झापा,असोज १९। ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी-२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार सहभागी भएका छन् । स्वदेश तथा विदेशका चित्रकार आउने भएपछि बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका स्थानीयवासीले दैनिक जनजीवनमा प्रयोग भइरहेका पुराना घरेलु सामग्रीलाई प्रदर्शनीमा राखेका थिए । चित्रकारलाई अवलोकन गराउन ध्वाँसो लागेका हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, जाल, ढडिया, फुर्लुङ, मुढा, कोक्रो, कुचो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, मान्द्रो, फिपी, घुर्रा, मदानी, ठेका, हर्पे, काठे गिलास, हलो, जुवा, हल्लुड, सोइला, कुटो, कोदालो, फिर्के, खरेटो, चिम्टा, पन्यु, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द, काठको चम्चा लगायतका घरायसी सामग्रीको नाम लेखेर पङ्क्तिबद्धरुपमा एउटा कोठामा राखिएको थियो । स्थानीयवासी इमान राईको अगुवाइमा विदेशी पहुनालाई नेपाली जनजीवनका बारेमा जानकारी दिलाउने उद्देश्यले ती सामग्री सङ्कलन गरेर प्रदर्शनीमा राख्ने व्यवस्था मिलाइएको थियो । यही असोज १७ देखि २१ गतेसम्म हुने चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल आइपुगेका २० विदेशी र १७ स्वदेशी चित्रकारलाई बिहीबार जापलामा स्थानीय कला तथा संस्कृतिसम्बन्धी सामग्री प्रदर्शन गरिएको राईले बताए।स्वदेशी तथा विदेशी चित्रकारले पुराना घरेलु सामग्री, स्थानीय कला तथा संस्कृतिलाई निकै रुचिपूर्वक अवलोकन गरेका वडाध्यक्ष दानबहादुर राईले बताए। उहाँका अनुसार यहाँ आएका चित्रकारलाई जालपामा किराँत समुदायको साकेला, नेवार समुदायको लाखे, खसआर्य समुदायको सँगिनी र मारुनी नाचसमेत देखाइएको थियो । जालपा माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिलाएका वडाध्यक्ष राईले बताए। विशेष गरी विदेशी चित्रकारलाई जालपाको भौगोलिक, सामाजिक तथा सांस्कृतिक अवस्थाका बारेमा निवर्तमान वडाध्यक्ष विकास राईले नेपाली र अङ्ग्रेजमा जानकारी दिनुभएको उनको भनाइ थियो ।“कार्यक्रमको कार्यतालिकाअनुसार यहाँ आएका अतिथिलाई वडापन्छी घोषणा गरिएको लाटोकोसेरोको प्रतिमा अवलोकन गराइएको थियो”, वडाध्यक्ष राईले बताए, “स्थानीयवासीले आयोजना गरेको विभिन्न कार्यक्रममा चित्रकारहरुले क्यान्भासमा लाइभ पेन्टिङ गरेर चित्र तयार पारेका थिए ।” जालपाबाट फर्किएका चित्रकारले दिक्तेलको कर्म मन्दिरमा बालन र सँगिनी नाच अवलोकन गर्नुका साथै खानीडाँडा विमानस्थल पुगेर त्यहाँको दृश्यावलोकन तथा नेवारी झाँकी एवम् माटोको भाँडाकुँडा निर्माणसम्बन्धी कला अवलोकन गराइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्