झापा, असोज २३।सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो ।अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिइन् ।अभियानले मेचीनगर वडा नं १० स्थित धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर वडा नं ८ स्थित आदर्श माध्यमिक विद्यालय र मेचीनगर वडा नंं ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयको एक सय मिटरभित्रका पसल तथा घरको अनुगमन गरेको जनाएको छ । ती विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र पत्रु खाना जङ्क फुडको निर्वाध बिक्री वितरण भइरहेको अभियानका कोषाध्यक्ष मीरा काफ्लेले जानकारी दिइन् ।उपभोक्ता जागरण अभियान मेचीनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको प्रतिबन्धात्मक कानुनी व्यवस्थाको कार्यान्वयन नभएको जनाउँदै मेचीनगर नगरपालिकामा तीनबुँदे मागपत्र बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्