झापा, असोज २३ । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको सभापतिमा ऋषि चापागाई निर्वाचित भएका छन् ।

झापा उद्योग संघमा सोमवार भएको निर्वाचनमा सभापतिकी उम्मेदवार लता चापागाई कार्कीलाई २५ मतान्तरले हराउँदै चापागाई तेस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

३ सय १९ मतदाता रहेकोमा चापागाईले १ सय २२ मत ल्याएका छन् भने कार्कीले ९७ मत पाएकी छिन् । चापागाईले यसअघि २०६६ फागुनदेखि २०७० भदौ र २०७६ चैतदेखि २०७९ माघसम्म गरी दुई कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । त्यस्तै ८ वटा आरक्षित सिटमा रिता खतिवडा, चन्दनकुमार महत्तो, राधिका कटुवाल, तुलामाया वन गिरी, बिक्रम क्षेत्री दाहाल, दिनलाल माझी, मुन्नीवत्ती कार्की , भक्तबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत र परियारको बराबरी मत आएपछि गोलाप्रथा गर्दा बस्नेत विजयी भएको तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पाँच जना खुला सदस्यमा पवन श्रेष्ठ, गोपाल श्रेष्ठ, दीपक तिम्सिना, शान्तरत्न शाक्य र राजन पौडेल निर्वाचित भएका छन् । अपाङ्ग संघमा नेपाली काँग्रेसकै दुईवटा प्यानल एक आपसमा भिडेका थिए । संघका पूर्व केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ र मोहन महर्जनको प्यानलले प्रतिष्पर्धा गरेका थिए । श्रेष्ठ प्यानलबाटै चापागाई सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्