झापा , असोज २६ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेतको कार्यक्रममा भएको तोडफोडपछि पार्टीनिकट युवा संघका कार्यकर्ताहरु आक्रामक देखिएका छन् ।

उनीहरुले दुर्गा प्रसाईको बीएण्डसी हस्पिटलअगाडि हिजो साँझ चर्का नारावाजीसहित कोणसभा गरेका थिए भने भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–६ कमेरोटारस्थित प्रसाईको घर घेराउ गरेका छन् । साँझपख बीएण्डसी हस्पिटल अगाडि युवा संघका कार्यकर्ताहरुले कोणसभा गरेको प्रहरीले जनाएको छ । युवा संघका कार्यकर्ताहरु आक्रामक बन्दा अप्रिय घटना हुनसक्ने खतरा देखिएको छ । भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०–१५ जनाको समूहले प्रसाईको घर घेराउ गरेको हो ।

उनीहरुले प्रसाईको घर फुटाउने धम्कीसमेत दिएको नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईले जानकारी दिए । आफू झापा भएको बेला आफ्नो भक्तपुरको घर घेर्न पुगेका युवा संघका कार्यकर्ताले घर फुटाउने धम्की दिएको प्रसाईले जानकारी दिए । ‘देशमा यतिसम्म अराजक भइरहेको छ । नागरिकको बाँच्न पाउने अधिकार पनि हनन भइरहेको छ । लोकतन्त्रमा कानुन नै यस्तै हुन्छ ?। कसैको घर फुटाउने धक्की दिनु कतिसम्मको हो ? ’ उनले प्रश्न गरे । कानुनभन्दा बाहिर गएर जे–पायो त्यही गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

हिजो एमाले नेता बस्नेतको कार्यक्रममा दर्जनौं सवारीसाधनमा तोडफोड भएको थियो । तोडफोडमा संलग्न बीएण्डसी हस्पिटलका क्यान्टिन संचालक विक्रम लिम्बू पक्राउ परेका छन् । बस्नेतको कार्यक्रम बिथोल्न पहिचानवादीहरु र प्रसाईका समर्थकहरु पुगेका थिए । उनीहरुले नै सो तोडफोड गरेको दावी गरिएको छ । तर, घटनापछि एकले अर्कामाथि दोष थोपर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्