झापा, असोज २६ । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको करिव दुई सय पुरानो बिर्तामोड ४ को पिपलको बोट संरक्षण गर्न आयोजना गर्न लागिएको पुराणको तयारी पूरा भएको छ ।

यही असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म त्यहाँ श्रीमद् देवी भागवत महापुराण आयोजना गर्न लागिएको हो । श्री सिंहवाहिनी देवी पिपल बोट श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आयोजक मूल समितिले पत्रकार सम्मेलन गरी पुराणको तयारीबारे जानकारी दिएको हो । पुराणमा कथावाचक आचार्य छन्दुराम भण्डारीबाट कथा वाचन र पण्डित जयभद्र सुबेदीबाट पाठ पारायण हुने आयोजक समितिकी अध्यक्ष हेमकला कट्टेलले बताइन् । उनले पुराण शुरु हुनुअघि कलशयात्रा गरिने र सो कलशयात्राले बिर्तामोडको ५ किलोमिटर क्षेत्र परिक्रमा गर्ने जानकारी दिइन् ।

बिर्तामोड वडा नं. ५ को दक्षिण कुनाको केही पूर्व, बिर्तामोड ४ अन्तर्गत बिर्ताबजार पूर्व र पुरानो बिजुली अफिस हँुदै बुट्टाबारी जाने सडकछेउ हाल पशुपंछी तथा मत्स्य विकास कार्यालय (पुरानो नाम भुसुने खाडी काठको पुल) छेउमा अबस्थित ८.५ मिटर ब्यास गोलाईको सो पिपलको बोटमा प्राकृतिक देवीथान, धार्मिक आस्थाको धरोहरका रुपमा सिंहबाहिनी देवीमाता बिराजमान रहेको विश्वास गरिएको छ ।

त्यस्तै सो क्षेत्रमा नागहरु नाचेको तथा झलमल्ल प्रकाशका ज्योतिहरु छर्ने गरेको,हाल पनि यदाकदा भिन्न प्रजातिका सर्पहरुले क्रिडा गरेको देखिने गरेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार सो पिपलको बोटमा प्राकृतिक रुपमा नै देवीको प्राकट्य रुप रहेको धार्मिक मान्यताका साथ लामो समयदेखि पुजा आराधना गर्दै आईरहेको अबस्था छ । यहाँका मूलवासी आदिवासीहरुको ग्राम , महाराज , कालीलगायतका सामूहिक देवीदेवताको थलो ग्रामथान सोही बृक्षमा रहेको थियो । अनकन्टार जंगल भएका बेला रात परेपछि सोही रुट हुँदै देवी देवताहरु घोडाको चालमा(दौड) हिड्ने गरेको जनश्रुती छ ।

जात्रु चौधरीले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई २ विगाह एक कठ्ठा ५ धुर जग्गा दान दिएका थिए । सोही जग्गामा पिपलको बोट रहेको छ । उनका छोरा पुष्पलाल चौधरीले बुबाले बचन दिएकाले जात्रुको मृत्युपछि विद्यालयलाई जग्गा पास गरिदिएका थिए । त्यो ठाउँमा जंगल झाडी रहेको थियो । पुष्पलालका अनुसार भुस्री भनेको माताको नाम हो। त्यही माताको नामबाट काठको पुलको नाम भुस्री राखिएको थियो ।पुलमुनि बुहाली , मुंग्री ,सहुल,हिले , गरैलगायतका माछा प्रशस्तै पाउने गथ्र्यो । पुष्पलालका अनुसार एकदिन एकजना गाउँले दिउँसै बाँस काटदै गर्दा सिंहले झम्टेर घाईते बनाएको थियो । ती घाईते घरमा आईसकेपछि बाघजस्तो घुर्ने ,कराउने अनि त्यसको तीन दिनपछि उनको मृत्यु भएको थियो । सिंहदेवी माताको साक्षात बासस्थानसंगै भुस्री माता र चार(एक किसिमको भुत) त्यहाँ रहेको थियो । त्यहाँ चार भुतले दिउँसै ढुंगा हान्ने, तर्साउने गर्दथ्यो। उनी भन्छन् ,‘ग्राम महाराजको दौड पनि रहेको थियो ।’

संरक्षणको पर्खाइमा रहेको उक्त सिंहबाहिनी देवी पिपलबोट वरिपरि घेराबेरा गरी मन्दिरको संरक्षण र सम्बर्धन गर्दै देबीथानलाई सुरक्षित र ब्यवस्थित बनाउनु पर्ने टड्कारो आवश्यकता महसुस गर्दै समिति गठन गरी पुराण लगाइएको अध्यक्ष कट्टेलले बताइन् । महत्वपूर्ण धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बिर्तामोड नगर क्षेत्रकै पहिचान कायम हुन सक्ने सम्भाब्यता रहेको प्राकृतिक रुपमा नै प्राकट्य आस्थाको धरोहर भएपनि संरक्षणको पर्खाइमा रहेको सिंहबाहिनी देवी पिपलबोट देबीथानको मुख्य रुपमा संरक्षण सम्बर्धन गर्ने र सिंहबाहिनी देबी पिपलबोट आसपास उपयुक्त स्थानमा जग्गा खरिद गरी सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखेको समितिकी महासचिव उमा शिवाकोटीले बताइन् । उनले पुराणस्थल देवीथानमा घटस्थापनाका दिन राखिएको जमरा दशमीका दिन बिहान जमरा ब्यवस्थापन समितिले वितरण गर्ने जानकारी दिइन् ।

पुराणमा करिव २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक समितिले सो पिपलको बोट घेरावारा गरिसकेको छ । पुराण आयोजना गर्नका लागि कट्टेलको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा हरिप्रसाद तिम्सिना , पार्वता बिमली खरेल , शान्तिबहादुर कार्की ,महासचिव उमा शिवाकोटी , सचिव उमा तिम्सिना र कोषाध्यक्षमा कृष्ण सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्दिरा आचार्य , गीता भट्टराई , पार्वता बस्नेत , लवकुमार चौधरी , बमबहादुर मैनाली र टीका पोखरेल रहेका छन् । त्यस्तै विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्