झापा,कात्तिक ५ । पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा महानवमी पूजाका लागि तयारी पूरा भएको छ ।

महानवमीको दिन भोलि विहान ३ बजेदेखि नै भक्तालुहरुका लागि मन्दिरको गेट खुल्ला गरिने भएको हो । बिहान ३ बजे सलामीसहित वडाध्यक्ष अजय कार्कीको हातबाट मौलो पूजा गरिसकेपछि भक्तालुहरुका लागि मन्दिर खुल्ला गरिने भएको हो । वडाध्यक्ष कार्कीले भक्तालुहरुलाई व्यवस्थित गर्दै सहजीकरण गर्नका लागि ६२ जना स्वयंसेवक परिचालन गरिने जानकारी दिए । त्यस्तै मन्दिरमा पूजाको जिम्मेवारी लिएको राजवंशी समाज विकास समितिले बिर्तामोडको ७ , ८ र ९ नं वडा समिति परिचालन गरेको समितिका प्रदीप राजवंशीले बताए ।

यसैबीच बिर्तामोड ८ नं वडा कार्यालयले धेरै वर्षपछि दुर्गा शक्तिपीठमा कालरात्रि पूजा गरेको छ । महाअष्टमीको राति कालो बोकाको बलि दिएर कालरात्रि पूजा गरिएको वडाध्यक्ष कार्कीले बताए । गरामनी गाउँ विकास समिति हुँदाका बखत कालरात्रि पूजा गरिन्थ्यो । त्यसपछि भने हुन छोडेको थियो । आफूहरुले यस वर्षदेखि गरामनीको शक्तिपीठमा कालरात्रि पूजा शुरु गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

धार्मिक , ऐतिहासिक एवं पुरातात्विक महत्वको गरामनीको दुर्गा शक्तिपीठमा महानवमीका दिन महापूजा हुने गरेको छ । त्यहाँ दर्शनका लागि झापा, मोरङ, इलामलगायत भारतका भक्तालुहरु पनि आउने गरेका छन् । त्यस्तै एकादशीका दिन त्यहाँ ठूलो मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्