झापा, कात्तिक ६ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी झापाले सोमवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बडादशैं , शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा भूतपूर्व विद्यार्थी समाजले महानवमीका दिन महेन्द्ररत्न माविमा सो कार्यक्रम आयोजना गरेको थियो । साहित्यिक र सांगीतिक माहौलमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु केशव आचार्य , देशु सुब्बा वनेम , प्रमोद दाहाललगायतले कविता वाचन गरेका थिए । राष्ट्रिय कलाकार अर्जुन भट्टराईको विशेष प्रस्तुती रहेको कार्यक्रममा सरोज माझी , भक्त आचार्य , लीला अनमोलले गीत गाएका थिए ।

भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सिटी क्याम्पस बुटवलका क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने , नागरिक लगानी कोषका संचालक अशोक बुढाथोकी , नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत दिलिप राजवंशीले शुभकामना मन्तव्य राखेका थिए । भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष मदनगोपाल सुब्बाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव मोहन शिवाकोटी र सदस्य लीला अनमोलले गरेका थिए ।

कार्यक्रममा महेन्द्ररत्न माविमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुबीच भेटघाट हुनुका साथै एकापसका शुभकामना साटासाट गरिएको अध्यक्ष पोखरेलले बताए । भूतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमामा गुरु सम्मान , शुभकामना आदानप्रदानलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्