बिर्तामोड, कात्तिक ६ ।बिर्तामोड– ७ स्थित देउनिया खोलाको बगरमा बस्ने लाखबहादुर विश्वकर्मालाई चाडपर्वमा खानलाउने चिन्ता छैन । किनकि उनको परिवारलाई यो दशैमा पनि अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

अत्यन्त दयनीय अबस्थाका विश्वकर्माको परिवारका लागि दशैं मनाउन अमेरिकामा रहेकी छला खनालले चामल र मासुको लागि खर्च पठाइदिएकी हुन् ।उनीसंगै सोही बगरमा छाप्रो बनाएर बसेका राजकुमार सुवेदी , लाल्टु हेमरम , सुफल हेमरम र महावीर विश्वकर्माको परिवारका लागि पनि एक–एक बोरा चामल र एक–एक किलो मासुको सहयोग उपलब्ध गराएकी छन् । उनले राजकुमार सुवेदीको घरको छानोका लागि ३ बन्डेल कर्कटपाता र सुवेदीकी छोरीका लागि नयाँ लुगा समेत सहयोग गरेकी छन् । यसअघि २०८० सालको नयाँ वर्षमा लाखबहादुर विश्वकर्माको परिवारले खनाललगायतको सहयोगबाट नाना , खाना र छाना पाएको थियो ।

बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा अभावमा बाँचिरहेका विश्वकर्माको परिवारले नयाँ वर्षमा घरको छानो , सुत्ने खाट , लगाउने लुगाकपडा, जुत्ताचप्पल, खाने खाद्यान्नदेखि चाडपर्व मनाउन मासुसमेत पाएको थियो । वडाध्यक्ष कार्कीको अगुवाईमा वडा समितिले विश्वकर्माको घरमै पुगेर २ बन्डेल कर्कटपाता,दुईवटा खाट , दुई बोरा चामल,दाल , नून तेल,सिरक , डस्ना , सिरानी ,तन्ना ,लगाउने लुगा , जुत्ताचप्पल , बिस्कुट , चकलेट र पर्व मनाउन मासु वितरण गरेको थियो ।

यो दशैंमा पनि वडाध्यक्ष कार्कीले घरमै पुगेर सहयोग गरेका छन् । सहयोग सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष कार्कीले गरिव असहायले पनि महान चाड दशैं मनाउन पाउन् भनेर अमेरिकामा रहेकी खनालको सहयोगमा सो खाद्यान्न उपलब्ध गराएको बताए ।

अमेरिकामा रहेकी समाजसेवी खनाललगायतका मनकारी व्यक्तिहरुले ती सुकुम्वासीहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । बगरमा रहेका पाँच परिवारको बस्तीलाई नमूना बस्ती बनाउने उद्धेश्य राखिएको छ । बगरलाई बस्तीमा परिणत गरी उनीहरुलाई घर निर्माणदेखि खानेपानीको लागि ट्युवेल , विजुली बाल्नका लागि मिटरबक्स, शौचालयलगायतका व्यवस्था गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले गरिखानका लागि उनीहरुलाई औजार पनि प्रदान गरिएको जानकारी दिए ।

गत जेठ ६ गते लाखबहादुर विश्वकर्माको परिवारलाई आफ्नै घरमा आरन संचालन गर्न ग्रेन्डर मेशिन प्रदान गरिएको थियो । त्यतिबेला विश्वकर्मासंगै अन्य तीन विपन्न परिवारले पनि सहयोग पाएका थिए । आफ्नो घर नभएर अर्काको घरमा आश्रय लिइरहेका राजकुमार सुवेदी , सुफल हेमरम र बोतलसिंह हेमरमको परिवारले सहयोग पाएका थिए ।

दीनदुःखीहरुका लागि आफूहरुले निरन्तर सहयोग गर्दै जाने वडाध्यक्ष कार्कीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल, सामाजिक व्यक्तित्वहरु रमेश कार्की, कृष्ण श्रेष्ठ, कुमार दर्नाल , तुलसी प्याकुरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्