बिर्तामोड, कात्तिक २५ । नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुब्बा र एकल महिला दीपा पौडेलबीचको लेनदेनको विषय राजनीतितिर मोडिएको छ ।

सुब्बाको पक्षमा माओवादीले पत्रकार सम्मेलन गर्दै

बिर्तामोड नगरपालिकामा लेनदेनको उजुरी परेर त्यस विषयसंग जोडिएका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र माओवादी नगर अध्यक्ष सुब्बाबीच केही दिनअघि फोनमा चर्काचर्की भएर सो संवाद संचारमाध्यममा सार्वजनिक भएपछि विवादलाई राजनीतिकरण गर्ने प्रयास भएको हो ।

करिव १६ वर्षअघि दीपा पौडेलका श्रीमान् स्व. धनबहादुर पौडेलबाट लिएको ३ लाख ऋण सुब्बाले तिर्न नखोजेर अन्याय गरेको भन्दै उपप्रमुख संग्रौला , एमाले बिर्तामोडका सचिव शेखर कँडेललगायत ती महिलाको पक्षमा उभिएका छन् । अर्कोतर्फ दोषी आरोप लागेका नगर अध्यक्ष सुब्बालाई जोगाउने पक्षमा माओवादी पार्टी खुलेर लागेको छ । उनीहरु एक अर्काप्रति निकृष्ट शव्द प्रयोग गर्दै तल्लो स्तरसम्म खनिएका छन् ।

उपप्रमुख संग्रौलासंगको फोन विवाद सार्वजनिक भएपछि नेकपा माओवादी बिर्तामोडले संग्रौलालाई कार्वाहीको चेतावनीसहित प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसको केही दिनमै फेरि शनिवार बिर्तामोडमा माओवादीको जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन गरी फोनमा भएको व्यक्तिगत संवाद सञ्चारमाध्यमलाई उपलब्ध गराएर पार्टी नेताको चरित्र हत्या गरेको जनाउँदै माओवादी केन्द्रले पदीय मर्यादा र जिम्मेवारी भुलेर पूर्वाग्रही ढंगले कपोकल्पित, भ्रामक र प्रमाणहिन अभिव्यक्ति नदिन उपप्रमुख संग्रौलालाई चेतावनी दिएको छ ।

पीडित भनिएकी दीपा पौडेल

माओवादी केन्द्रले न्यायिक समिति संयोजक संग्रौलाले कानुन र प्रमाणका आधारमा न्याय सम्पादन गर्नुपर्नेमा राजनीतिक पूर्वाग्रह राखेर पार्टीका नगर अध्यक्ष सुब्बा र सिंगो पार्टीप्रति मिथ्या आरोप, धम्की र अश्लिल गालीगलौज गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘हाम्रो पार्टी र नगर अध्यक्षउपर संग्रौलाले लगाएका मिथ्या आरोपलाई पुष्टि गर्न समेत चुनौति दिन्छौँ । नगर अध्यक्ष सुब्बा र सिङ्गो पार्टीप्रति लुटेरासम्मको आरोप लगाउँदै भाटा हान्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै गए पार्टीले कानुनी कारबाही गर्नेसमेत सूचित गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष सुब्बाले अहिले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो लेनदेन नभएको दावी गरे । सुब्बाले १६ बर्षअघि पीडित भनिएकी महिलाका श्रीमान् स्व. धनबहादुरलाई जग्गा बिक्रीमा सहयोग गरेबापत उनले राजीखुशीले कमिशन दिएको र अहिले आएर त्यसलाई राजनीतिक मुद्धा बनाई चरित्र हत्या गर्न खोजिएको दावी गरे । उनले आफूलाई प्रमाण पुर्याएर दोषी ठहर गरे जस्तोसुकै कानुनी सजाय भोग्न तयार रहेकोसमेत बताए ।

२०६४ सालमा भएको त्यस लेनदेन अझै नमिलेपछि तीन दिनअघि दीपा पौडेलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकी छन् । प्रहरीले छलफलका लागि बोलाएपनि माओवादी नगर अध्यक्ष सुब्बा गएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्