झापा , मंसिर ३ । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।
हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाए ।
बलिङतर्फ जापानका अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक÷एक विकेट लिए ।
एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाए ।
बलिङतर्फ नेपालका सङ्गिता राई, इन्दु बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक –एक विकेट लिए ।
महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि प्रतिष्पर्धा भइरहेको छ ।