झापा , मंसिर २१ । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९–८० मा कुल ऋण ६० लाखभन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक विवरण अनुसार हालसम्म ६० लाखभन्दा माथि ऋण रहेको र केही महिनामा १ करोड नाघ्ने छ ।


बार्षिक ९ हजार ५ सय ८४ क्यूफिट कटान क्षमता भएपनि यस समूहमा लाखौं ऋणभार प्रत्येक बर्ष बढ्दै गएको देखिन्छ। तीन वर्षमा नेतृत्व हस्तान्तरण भई सामुदायिक वनमा नयाँ नेतृत्व चयन हुने व्यवस्था छ । निर्वाचनमा ऋणमुक्त सामुदायिक वन र कैदले पर्यापर्यटनको विकासलाई मुख्य प्राथमिकता राखी उम्मेदवारहरु नेतृत्वमा पुग्ने गर्छन्। तर, यस वनमा जो नेतृत्वमा आएपनि समूहको ऋण बढेकोमा जनस्तरमा आलोचना बढेको छ ।

गत आर्थिक वर्षमा बार्षिक ३ करोड ६० लाख ६८ हजार ९ सय ६८ रुपैयाँ आर्थिक कारोबार गरेको यस वन समूहमा ऋण प्रत्येक बर्ष बृद्धि हुँदै जानुमा मुख्य कारण सामुदायिक वनले प्रशासनिक कार्यसम्पादन गर्नका निम्ति २४ प्रतिशत उच्च व्याजदरमा साहुमहाजनबाट सापटी र ऋण लिएर कार्यालय संचालन गर्नु हो । त्यस्तै विभिन्न शिर्षकका भम्रण भत्तालगायतका खर्चहरु कटौती हुन नसकेको वन क्षेत्रका विज्ञहरुको दाबी छ ।

समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष झरिन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित साधारणसभामा बोल्ने अधिकांश वक्ताले कैदले पर्यापर्यटनलाई गुरुयोजना निर्माणसहित साझा राजनीतिक संकल्प बनाई त्यस क्षेत्रको विकासमा जोड दिनुपर्ने औंल्याएका थिए । ७ सय ४७ दशमलव ७० हेक्टर क्षेत्रफल रहेको र २१ सय १७ घरधुरीलाई समेटेको यस सामुदायिक वनमा वन पैदावरको आम्दानी पनि निकै रहेको समूहको प्रतिवेदनमा उल्लेख छ । यसरी, समूहको कूल ६० लाख ऋणलाई भाग लगाउँदा प्रतिउपभोक्ता दायित्व २८ सय ३५ रुपैयाँ हुन आउँछ ।

२८ औं साधारणसभामा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटन गरेको कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, निवर्तमान वडाध्यक्ष जीवन भण्डारी, नेकपा एमालेका अर्जुनधारा नगर उपाध्यक्ष लोकमान श्रेष्ठ, अर्जुनधारा नगरपालिका निवर्तमान उपमेयर कमला खतिवडा, नेकपा माओवादी केन्द्रका नारायण पौडेल, कनकाई सब–डिभिजन वन कार्यालयका प्रमुख नथुनी गहिवार यादव, उद्योग वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष इन्दीर खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्