झापा , मंसिर २१ । झापा अर्जुनधारा– ६ का नागरिकहरुले अब निःशुल्क रगत पाउने भएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं.६ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाबीच निःशुल्क रक्त आपूर्तिका लागि बिहीवार सम्झौता भएको हो । वडा कार्यालयका तर्फबाट वडाध्यक्ष हरिश्चन्द्र बास्तोला र रेडक्रसका तर्फबाट रेडक्रस सोसाइटीका कोषाध्यक्ष ओमप्रकाश गौतमले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं.६ भित्रका विपन्न, आर्थिक अवस्था कमजोर भएका, रगतको खर्च व्यहोर्न नसक्ने बासिन्दाहरुका लागि आकस्मिक अवस्थामा नगरभित्रको बासिन्दा भएको प्रमाणको प्रतिलिपि जस्तै (नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्र) पेश गरेको आधारमा रक्त संचार सेवा बिर्तामोडमार्फत विरामीलाई निःशुल्क रगत आपूर्ति गर्ने सहमति भएको रेडक्रस अर्जुनधारा उपशाखाका सचिव कमल पोखरेलले बताए ।

रक्तसंचार केन्द्रबाट विरामीलाई आवश्यक पर्ने समूह (ग्रुप) को रगत रेडक्रसबाट उपलब्ध गरिने र रगतको अभाव भएको अवस्थामा ताजा (फ्रेश) रगत र दुर्लभ समूहको रगत आवश्यक परेको सम्बन्धमा विरामी वा निजका आफन्तहरुबाट रगत व्यवस्थापन गर्नुपर्ने , त्यस अवस्थामा रगत खोज्ने कार्यमा रक्तसंचार केन्द्रको सहजीकरण तथा सहयोग रहने पोखरेलले जानकारी दिए । रगत आपूर्ति गरेवापत वडा कार्यालयले रेडक्रस सोसाईटीलाई एक लाख रुपैयाँ बुझाउनुपर्ने संझौतामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्