बिर्तामोड, मंसिर २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पुर्जी जारी गर्न दिएको आदेशविरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत नेकपा मेची ब्युरोले झापा , इलाम र पाँचथरमा विरोध प्रदर्शन गरेको छ ।


घोषित आन्दोलन बिहीबार देशैभर पार्टी जनवर्गीय संगठन र सर्वसाधारणको उपस्थितिमा झापालगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको हो । मेची ब्युरोअन्तर्गत झापाको बिर्तामोड, इलामको इलाम बजार र पाँचथर सदरमुकाममा विरोध प्रदर्शन गरेको पार्टीले जनाएको छ । नेकपाले पार्टी केन्द्रले घोषणा गरेको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत

मंगलबार साँझ मशाल जुलुस प्रदर्शन र बुधवार न्यायाधीशको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको थियो ।
बिर्तामोडमा भएको प्रदर्शन तथा कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा मेची व्युरो इन्चार्ज सुमनसिंहले सम्बोधन गरेका थिए भने इलामको सभालाई पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी र जिल्ला इन्चार्ज मौसमले सम्बोधन गरेका थिए । त्यस्तै पाँचथरको कार्यक्रमलाई जिल्ला इन्चार्ज सन्तोष सीले सम्बोधन गरेका थिए।

बिर्तामोडमा भएको सभालाई सम्बोधन गर्दै नेता सिंहले अदालतले ३ बुँदे सहमतिविपरित गैरकानूनी, अराजक ढंगले पक्राउ पुर्जी जारी गर्नुमा देशीविदेशी शक्ति लागिपरेको आरोप लगाउँदै हिम्मत भए मुखुण्डो उतारेर अगाडि आउन चेतावनी दिए । उनले हिजो यो देशमा राष्ट्रघात जनघात लगायत विभिन्न बेथितिहरुका विरुद्ध बलिदानीपूर्ण संघर्ष गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको स्मरण गराउँदै कसैले नेपाल कम्युनिस्ट पार्टी र उसका नेताकार्यकर्तामाथि षड्यन्त्रको जाल फ्याँक्ने चेष्टा नगर्न चेतावनी दिए । उनले हिजो जनताका हरेक समस्यासँगै पार्टी रहेको र बैंक तथा वित्तीय संस्थाले गरेकोे गैरकानुनी हर्कतका विरुद्ध लड्ने पार्टी समेत नेपाल कम्युनिस्ट पार्टी भएको भन्दै देश र जनताको हकहितका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए।

इलाममा भएको सभालाई सम्बोधन गर्दै नेताद्वय होम सी र मौसम सीले नेपाल सरकार र नेकपाबीच भएको ३ बुँदे राजनीतिक सहमतिविपरित विदेशी प्रतिगामी शक्तिहरुको निर्देशनमा अदालतले २०७६ सालको मुद्दा व्यूँताएर युद्धको निम्तो दिन खोजेको भन्दै प्रतिरोध गर्न सिंगो पार्टीपंक्ति तयार रहेको चेतावनी दिए। उनीहरुले आजसम्म नेकपाले उठाएका राष्ट्र, राष्ट्रियता, जनजीविका र वित्तीय ठगीका मुद्धा सतहमा आइसकेकाले पार्टीले आव्हान मात्र गर्दा पनि प्रतिगामी षड्यन्त्र ध्वस्त हुने भन्दै संघर्षरत पार्टीसँग निहुँ नखोज्न चेतावनी दिए।

पाँचथरको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सन्तोष सीले सरकारले तीन बुँदे राजनीतिक सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। सरकारले गरेको निर्णय केटाकेटीले खेलेको खेलजस्तो नभएर यसलाई गम्भीर ढंगले छलफल गरेर समस्या समाधान गर्न र नेपाल कम्युनिस्ट पार्टीसँग निहुँ खोज्ने काम नगर्न चेतावनी दिए। विरोध प्रदर्शनमा उपस्थित पार्टीका नेता कार्यकर्ताहरुले पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश र अदालतकाविरुद्ध चर्का नाराबाजी गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्