इटहरी, मंसिर २२ । नेपाली सेनाको संगठनात्मक भूमिकाको बारेमा आम नागरिकलाई सही सूचना सम्प्रेषण गर्न प्रशिक्षित पत्रकार उत्पादन कार्यअन्तर्गत कोशी प्रदेशका पत्रकारलाई पूर्वी पृतनामा ४ दिने प्रशिक्षण दिइएको छ ।


नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा पूर्वी पृतना इटहरीको समन्वयमा कोशी प्रदेशका १४ जिल्लाका २० जना पत्रकारलाई रक्षा अभिमुखीकरण गरिएको हो ।

मंसिर १७ गतेदेखि २० गतेसम्म चलेको अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको स्थापना कालदेखिका संगठन संरचना, गतिविधि, जिम्मेवारी र भूमिकाका बारेमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सेनाको जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले राष्ट्र, राष्ट्रियता, स्वाभिमान र शान्तिका लागि स्थापनाकालदेखि संविधानको अधिनमा रहेर नेपाली सेनाले काम गरिरहेको बताए । उनले सेना र पत्रकारबीच सही सम्बन्ध स्थापित भए मात्र व्यावसायिक क्षमताको जनमानसमा सही पहिचान हुने बताए ।

यस्तै पूर्वी पृतना इटहरीका पृतनापति उपरथी डा. आशबहादुर तामाङले आफ्नो जिम्मेवारी क्षेत्रको जानकारी दिँदै संविधान र कानुनले दिएको जिम्मेवारीमा नेपाली सेनाको संरचना चलिरहेको स्पष्ट पारेका थिए । उनले सेनाका सत्य र तथ्यसम्बद्ध गतिविधि बाहिर ल्याउन तालिम फलदायी हुने विश्वास समेत व्यक्त गरेका थिए ।

प्रशिक्षणमा विषयगत रूपमा नेपाली सेनाभित्र रहेका विभिन्न निकायको काम, कर्तव्य र गतिविधि बारेमा जानकारी गराइएको थियो । सहभागी पत्रकारहरूले ती निकायका बारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्