झापा, मंसिर २३ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानको जिल्ला संयोजकमा रामचन्द्र मैनाली चयन भएका छन् ।

अभियानको बैठकले बिर्तामोड नगर संयोजक रहेका मैनालीलाई झापा जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।नगर कमिटीको अध्यक्षको जिम्मेवारी भने ओमप्रकाश लुइटेलले पाएका छन् । उनी यसअघि नगर कमिटीको सचिव रहेका थिए । गत साउन २० गते बिर्तामोडमा भएको बृहत भेलाले ३१ सदस्यीय नगर कमिटी गठन गरेको थियो ।

जिल्ला कमिटीको अध्यक्षमा यसअघि दुर्गा कँडेल रहेका थिए । आफ्नो नेतृत्वमा जिल्ला कमिटीलाई सशक्त बनाएर लैजाने संयोजक मैनालीले बताए । जिल्ला कमिटीसंगै झापाका प्रायः सबै पालिकाहरुमा अभियानको कमिटी विस्तार भइसकेको उनले जानकारी दिएका छन् ।

झन्डै ८ लाख सदस्य रहेको अभियानले देशका ४६ वटा जिल्लामा शाखा विस्तार गरिसकेको केन्द्रीय संयोजक दुर्गा प्रसाईले बताए । अभियानको ७ सदस्यीय स्टेरिङ कमिटी , ५१ सदस्यीय सचिवालय र एक सय सदस्यीय केन्द्रीय समिति रहेको प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्