भद्रपुर, मंसिर २३ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई स्रष्टा सम्मानबाट सम्मानित गरेको छ ।


हास्यव्यंग्य विषयक विचार गोष्ठी तथा हास्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा साहित्यका स्रष्टा काजीलाई सम्मान गरिएको हो ।

मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख गंगाप्रसाद अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख जीवन पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्याम्पसका पूर्व सहप्राध्यापक चुडामणि वशिष्ठले हास्यव्यंग्य सिर्जनाका सीप र शैली विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली हास्यव्यंग्य लेखनको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहप्राध्यापक तथा हास्यव्यंग्यकार होमनाथ सुवेदीले समयक्रम अनुसार हास्यव्यंग्य सिर्जना परिमार्जन हुनु पर्ने धारणा राखेका थिए ।

लक्ष्मी पौडेलले सञ्चालन गरेको कार्यक्रममा झापाका विभिन्न हास्यव्यंग्य कवि कवयित्रीले हास्यव्यंग्य कविता प्रस्तुत गर्दै वर्तमान नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकृतिमाथि प्रहार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्