पाँचथर, मंसिर २३ । ‘प्रथम किरात गोल्डकप–२०८०’ को उपाधि डाँगीहाट फुटबल क्लब मोरङले जितेको छ ।

फिदिम माध्यमिक खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्ता युनाटेड क्लब झापालाई १–२ गोल अन्तरले पराजित गर्दै मोरङ किरात गोल्डकपको विजेता बनेको हो ।

मोरङका तर्फबाट सञ्जय धिमाल र उमेश राईले १–१ गोल गरे । उपविजेता झापाका तर्फबाट योगेश गुरुङले मात्रै १ गोल गरे ।
मोरङका सञ्जय धिमालले खेल सुरु भएको १० औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए भने दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा थपेका थिए । झापाका तर्फबाट दोस्रो हाफपछिको अतिरिक्त समयमा १ गोल गर्दै गुरुङले टिमको खाता खोले ।

खेलमा बिर्ता युनाइटेडका प्रदीप बुढाथोकी म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । यस्तै मोरङका सन्जय धिमाल सर्वाधिक गोलकर्ता, अभिशेक लिम्बू सर्वोत्कृष्ट खेलाडी, मानबहादुर परियार उत्कृष्ट डिफेन्स, प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर, उमेश कार्की उत्कृष्ट मिडफिल्डर र राज लिम्बूले वेष्ट कोचको पुरस्कार पाए ।

आयोजक पाँचथर फुटवल क्लबका शुकराज राई उदीयमान खेलाडी घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भए ।
विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता झापाले २ लाख २ हजार २ सय २२ रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु प¥यो । विजेता र उपविजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री कमल जबेगू र फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

मंसिर १६ गते शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङसहित ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्