झापा, मंसिर २९ । सिरिजंघा गोल्डकपको उपाधिका लागि इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा बिर्तामोड ७ खोपवाडीको न्यूस्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै इलामले उपाधि जितेको हो । न्यूस्टार दोस्रो पटक उपाधि जित्नबाट चुकेको हो । यसअघि सिरिजंघा गोल्डकपको दोस्रो संस्करणमा पनि न्यूसटार उपविजेतामै सीमित बनेको थियो ।

तेल्लोक माविको खेलमैदानमा भएको फाइनल खेलमा न्यूस्टारका खेलाडीले आत्मघाती गोल गरेर पहिलो गोल इलामलाई उपहार दिएका थिए भने अर्को गोल इलामका खेलाडीले लगाएका थिए । पहिलो हाफको २४ औं मिनेटमा न्यूस्टारका अभिषेक लिम्बूले गरेको आत्मघाती गोलसँगै न्यूस्टारको ओरालो यात्रा सुरु भएको थियो । दोस्रो हाफको २२ औं मिनेटमा इलामका बिकेश लिम्बूले करिब २५ यार्ड टाढाबाट प्रहार गरेर गोल थप्दै उपाधि पक्का गरे ।

विजेता इलामले नगद २ लाख २ हजार २२२ र ट्रफी पाएको छ भने उपविजेता न्यूसटारले नगद १ लाख १ हजार १११ मा चित्त बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्