कुमरखोद,मंसिर २९। झापा गाउँपालिकाले बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु जफत गरी नष्ट गरेको छ ।

बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट गरेको हो । नेपालमा प्रतिबन्धित भारतीय दुईफूल ब्रान्डका खानेतेल अधिकांश किराना पसलहरुमा भेटिएको थियो । प्रतिबन्धित खानेतेल भेटिएपछि अब उप्रान्त नबेच्न पसल संचालकहरुलाई सचेत गराइएको छ ।

अनुगमन टोलीले माछा मासु पसल , खाद्यान्न पसल , औषधि पसल , रेडिमेट कपडा , स्टेशनरी पसल ,सुन पसल , होटल , कस्मेटिक पसल , आँखा अस्पताल , डेरीलगायतमा अनुगमन गरेको थियो । टोलीले बजार अनुगमन गर्दा अधिकाँश पसलहरु आन्तरिक राजश्व कार्यालयमा दर्ता रहेतापनि स्थानीय निकायमा दर्ता नभएको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत गजेन्द्र थपलियाले बताए । थपलियाले उपभोक्ताहरुले देख्नेगरी मूल्यसूची राख्न , विलविजक जारी गर्न , म्याद नाघेका सामग्री बेचबिखन नगर्न , खरिद विल राख्न , व्यवसाय दर्ता तथा नवीकरण गर्न र स्थानीय निकायमा ७ दिनभित्र दर्ता हुन आउन अनुरोध गरेका थिए ।

झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका बजारहरुको शुक्रवारदेखि अनुगमन शुरु गरेको हो । पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया नेतृत्वको टोलीले गाउँपालिकाको मुख्य बजार झापा बजारबाट अनुगमन थालेको हो ।

अनुगमन टोलीमा कार्यवाहक अध्यक्ष थपलिया, प्रमुख प्रशासकीय अधिकृत थपलिया , वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल , वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , बजार व्यवस्थापन समितिका अध्यक्ष बरतलाल राजवंशी , ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख कुलबहादुर मगर , सशस्त्र विओपी टाँघनडुब्बा प्रमुख अर्जुन ढकाल , स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपाने , राजश्व शाखा प्रमुख चन्द्रमणी तिम्सिना , कृषि तथा पशु शाखा प्रमुख जगतनारायण मण्डल , प्रशासन शाखा प्रमुख पूर्णचन्द्र मैनाली र संचारकर्मी केशव चापागाई रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्