झापा,मंसिर ३० । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एक विद्यालयकी शिक्षकमाथि ६ वर्षीय विद्यार्थीले गोली प्रहार गरेको घटनामा विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय भएको छ । भर्जिनियाको न्युपोर्ट न्युजस्थित रिचनेक एलिमेन्टरी स्कूलकी शिक्षक अविगेल ज्वेर्नरमाथि ६ वर्षीय बालकले कक्षाकोठाभित्रै गोली प्रहार गरेको घटनामा बालककी आमा २६ वर्षीया डेजा टेलरलाई त्यहाँको अदालतले २ वर्षको जेल सजाय सुनाएको हो। शुक्रबार सर्किट अदालतका न्यायाधीश क्रिस्टोफर पपिलले टेलरले आफ्नो सन्तानको राम्रो हेरचाह नगरेको भन्दै उनलाई २ वर्षको जेल सजाय सुनाएका हुन । कक्षाकोठामै गोली प्रहार भएपछि ज्वेर्नर गम्भीर घाइते भएकी थिइन्। उनको छातीमा गोली लागेको थियो। उनको पाँच पटक सर्जरी गरिएको थियो। घटनापछि उनी अत्यन्तै विक्षिप्त र मानसिक रूपमा कमजोर बनेकी बताइएको छ। ६ वर्षीय बालकसँगको सोधपुछमा उनले आफ्नी आमाले दराजको माथिल्लो भागमा राखेको बन्दुक झिक्न आफू ड्रयरमा चढेको बताएका छन्। त्यसपछि स्कुल जाँदा झोलामा राखेको र कक्षाकोठामा पुगेपछि पाइन्टको गोजीमा राखेको बताए।उनकी आमाले बन्दुकको ट्रिगर लक गरेर राखेको बताएपनि अनुसन्धानका क्रममा झुट ठहरिएको थियो।टेलरलाई यसअघि गएको नोभेम्बरमा मात्रै २१ महिनाको सजाय सुनाइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्