झापा, मंसिर ३० । पहिचान पक्षधर बन्दकर्ताहरुले मेची राजमार्गमा एउटा सवारी साधनमा आगजनी गरेका छन् ।

रोङ गाउँपालिकास्थित किटेनीमा पराल बोकेको एउटा पिकअपमा बन्दकर्ताहरुले दिउँसो ३ बजेतिर आगजनी गरेका हुन् । आगजनीबाट मे १ ज ११४० नम्बरको पिकअप जलेर नष्ट भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा पाँचथर जानेहरुलाई मात्र प्रहरी स्कर्टिङ गरेको र आफूहलाई सुरक्षा नदिएको भन्दै पिकअप संचालकहरुले अहिले सडकमा चक्काजाम गरिरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । उनले चक्काजाम खुलाउन पहल भइरहेको जानकारी दिए ।

एमालेका अध्यक्ष ओलीको कार्यक्रममा सहभागी हुन पाँचथरतर्फ जानेहरुलाई बन्द आव्हान गरेका पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेका थिए । कोशी प्रदेशभरि आज र भोलि प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो । प्रहरीले बन्दलाई असफल बनाउन मेची राजमार्गमा स्कर्टिङ गरेको थियो । एमालेको संकल्प यात्रा आज पाँचथर पुगेको छ। त्यसक्रममा आज पाँचथरको फिदिममा आमसभा आयोजना गरिएको थियो । संकल्प यात्रामा अवरोध गर्ने ३५ जना पहिचानवादी विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । उनीहरुलाई रिहाइका लागि दबाब दिन प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो ।

उता पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण खोटाङमा आज बिहानैदेखि यातायात ठप्प भएको छ । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोधका क्रममा पक्राउ परेकालाई निशर्त रिहाइको माग गर्दै पहिचानपक्षधरले सडकमा प्रदर्शन गरेका हुन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसीलगायतका क्षेत्रमा बन्दकर्ताले बसेर यातायात बन्द गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने प्रहरीको निगरानीमा यातायात सञ्चालन गरिरहेको बताएका छन् । खोटाङबाट पूर्व संस्कृतिमन्त्री गोपाल किरातीलगायत पाँच जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्