जनकपुर,पुष ६ । धनुषामा प्रहरीको हिरासतभित्र एक जना थुनुवाको मृत्यु भएको छ। हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गएराति मृत्यु भएको हो।

सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। डिएसपी रञ्जन अवालेका अनुसार एक राउण्ड हवाई फायर गरिएको हो। गोली लागेर हंशपुर नगरपालिकाका ५ का ३६ वर्षिय शिवशंकर मण्डल घाइते भएका छन्। उनको हातमा गोली लागेको छ।

घाइते मण्डलको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। हंशपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै–झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्