झापा,पुष १२ । झापाको गौरिगञ्ज गाउँपालिकाले गौरिगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौं तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ ।परीक्षाका आवेदकहरु २३ जनामध्ये संक्षिप्त सूचीमा नै नअटाएकी वडाध्यक्षकी छोरीलाई नियुक्त दिएपछि विवाद भएको हो ।संक्षिप्त सूचीमै नअटाएकी वडा नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीकी छोरी कृतिका राजवंशीको नाम थप्न सूचना नै संशोधन गरिएको थियो । गाउँपालिकाले यसअघि मंसिर २७ गते आवेदकहरु २३ जनामध्ये संक्षिप्त सूचीमा १० जनाको नाम प्रकाशित गरेर पुस १ गते हुने परीक्षामा सहभागी हुन सुचित गरेको थियो ।वडाध्यक्ष राजवंशीकी छोरी कृतिका राजवंशीको नाम १० जनामा समावेश थिएन । दुईदिन पछि मंसिर २९ गते पालिकाले सो सूचना संशोधन गर्दै वडाध्यक्ष राजवंशीकी छोरी कृतिकाको नाम थपेको पाइएको छ ।प्रथम सूचीमा नाम नभएकी वडाध्यक्षकी छोरी कृतिकाको नाम ११ पुषमा प्रकाशित परीक्षाको नतिजामा सफल उम्मेदवारको सूचीमा राखिएको छ । उनीसँगै गौरादह ८ की दिपिक्षा निरौला पनि सफल भएको गाउँपालिकाले आफनो आधिकारिक फेसबुक पेजमा अद्यावधिक गरेको सूचनामा जनाइएको छ । बैकल्पिक उम्मेदवारको सूचीमा भने सुमन न्यौपाने र सञ्जयकुमार ताजपुरियाको नाम छ ।पालिकाको सेवा करारमा कर्मचारी व्यवस्थापन गर्न बनेको कार्यविधि २०७९ अनुसार गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खेमराज थापाको संयोजकत्वमा पालिका अध्यक्षले तोकेको बिषयविज्ञसहितको समितिले सो परीक्षा लिएको थियो । परीक्षाको अन्तिम नतिजा प्रकाशन भएसँगै सामाजिक सञ्जालमा सो परीक्षा निष्पक्ष र धाँधलीरहित हुन नसकेको तर्कसहित पालिकाका नेतृत्वकर्ताहरु र वडाध्यक्ष राजवंशीको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्