बिर्तामोड, पुष १५ । प्यानलै बनाएर बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन लड्न लागेका कांग्रेस र एमालेले निर्णायक मत भएका अन्य दलहरुलाई फकाउन थालेका छन् ।

एक्लाएक्लै निर्वाचन जित्न सक्ने अबस्था नदेखेपछि कांग्रेस र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई फकाउन थालेका हुन् । ती दलहरुले सहकार्यका लागि बार्गेनिङ गरिरहेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा कोसंग सहकार्य गर्ने भनेर निर्णय गर्न कार्यदल नै बनाएको छ । दश दिनअघि गठन गरिएको १७ सदस्यीय कार्यदलको संयोजकमा महेन्द्र थापा रहेका छन् । उद्योगी व्यवसायीहरुको मुद्धालाई संबोधन गर्ने प्यानलसंग सहकार्य गरिने संयोजक थापाले बताए । ‘हामीले अध्ययन गरिरहेका छौं ’उनले भने,‘ एक हप्ताभित्र निश्कर्षमा पुग्छौं ।’रास्वपाबाट हालका उपाध्यक्ष राजु घिमिरेले निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा राखेका छन् । वरिष्ठ उपाध्यक्ष पद दिने प्यानलसंग रास्वपाले चुनावी एकता गर्नसक्ने बताइएको छ ।

त्यसो त रास्वपा कांग्रेसभन्दा एमालेसंग अलिक बढी निकट देखिएको छ । केही महिनाअघि बिर्तामोड उद्योग वाणिज्य संघको स्थापना दिवसको कार्यक्रमबाट रास्वपा बिच्किएको हो । त्यस कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरलाई विशेष अतिथि बनाएर उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाललाई वाणिज्य संघले प्रमुख अतिथि बनाएको थियो । वरीयताका हिसाबले उपसभामुख रानामगरलाई प्रमुख अतिथि बनाउनु पर्नेमा त्यस्तो नगरी कांग्रेस नेतृत्वको वाणिज्य संघले अपमान गरेको रास्वपाका झापा जिल्ला संयोजक उमेश खरेलले बताए । उनले चुनावी सहकार्यका लागि एमालेका जिल्ला अध्यक्ष दीपक कार्कीलगायत अन्य दलका नेताहरुले पनि प्रस्ताव गरेको जानकारी दिए ।

उता अघिल्लो निर्वाचनमा एमालेसंग सहकार्य गरेको राप्रपाले पनि छलफल गरिरहेको छ । दुवै दलका स्थानीयदेखि केन्द्रीय नेताहरुले सहकार्यका लागि प्रस्ताव गरिरहेको राप्रपाकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । कोसंग सहकार्य गर्ने भन्ने निर्णय गर्न पुष २० गते पार्टीको भेला बोलाएको उनले जानकारी दिइन् । आगामी फागुन १४ गते तोकिएको वाणिज्य संघको निर्वाचनका लागि एमालेले वर्तमान महासचिव अर्जुनकुमार मैनालीलाई अध्यक्षमा उठाउने घोषणा गरिसकेको छ भने कांग्रेसले वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षमा उम्मेदवारी दिन लगाउने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्