झापा,पुष १६ । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले बताएको छ ।

परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अर्थतन्त्रबारे चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

‘सर्वेक्षणमा कच्चा पदार्थको मूल्य बढेको देखियो । माग ३६.९३ प्रतिशतले घटेको देखियो,’ प्रतिवेदन सार्वजनिक गर्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले भने, ‘कारोबारमा समेत ३०. ५४ प्रतिशतले गिरावट भएको छ ।’

मुद्रास्फीतिले गर्दा माग घटेको परिसंघका अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘यसमा सरकारको नीति मुख्य जिम्मेवार छ, ग्रोथको पोलिसी लिने कि नियन्त्रण गर्ने ? यसमा सरकार क्लियर हुनु पर्ने थियो ।’

‘सरकारको पूँजीगत खर्चले अर्थतन्त्र चलायमान बनाउने हो, पुरानो पेमेन्टको पनि इस्यू छ, नयाँ कन्ट्र्याक्ट प्रभावित बनेको छ । सरकारको पैसा बजारमा आउनु प¥यो,’ उनले भने ।

सहकारीमा जनताको ठूलो पैसा फसेका कारण जनताबाट माग आउन नसकेको भन्दै उनले उद्योगीले थप ऋण लिन आँट नगरेको उनले बताए ।

उनले भने, ‘बैंकहरुमा पैसा फालाफाल छ, तर बैंकरले पनि पैसा दिन आँट गरेका छैनन्, यसलाई छलफल गरेर सल्ट्याउने बारे हामीले सोचिरहेका छौं ।’

सरकारको साधारण खर्च बढेको र पूँजीगत खर्च घट्दै गएको साथै कालोसूचीमा पर्नेहरु बढेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ ।

गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।

यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढेको र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ । सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

१०० वटा उद्योगमा गरिएको सर्वेक्षणमा आधारमा यो तथ्यांक सार्वजनिक गरिएको परिसंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्