झापा, पुष २० । झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्याङ्कन तोकेर भन्सार बुझाइएको प्रहरीले जनाएको छ । चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको थियो । प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो ।

त्यस्तै भद्रपुरलगायतका विभिन्न स्थानबाट मे २ प १६५७ नम्बरको अपाचे, को १३ प ३१५२ नम्बरको पल्सर, को ६ प ४५७८ नम्बरको पल्सर, मे ६ प १७७३ नम्बरको सुपर स्प्लेण्डर, मे ७ प ७०३४ नम्बरको पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाम दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि भन्सार बुझाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्