बिर्तामोड, पुष २० । आम्दानीकै लागि बिर्तामोडमा मेला महोत्सव लगाउने लहर चलेको छ ।

दुईवटा मेला जारी रहेका बेला बिर्तामोडमा अर्को मेला पनि लाग्ने भएको हो । बिर्तामोड अपांगता स्वावलम्बन संस्थाको आयोजनामा बिर्तामोड २ रामचोकनजिकै पुष ८ गतेदेखि ‘बिर्तामोड महोत्सव २०८०’ र सिटी सेन्टरमा पुष ९ गतेदेखि प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव जारी छ । ती दुईवटा मेला जारी रहेकै बेला बिर्तामोडमा अर्को पनि मेला थपिने भएको हो । आगामी माघ ९ देखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको नाममा अर्को मेला आयोजना हुने भएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा माघ ९ गतेदेखि महोत्सव गर्न लागिएको हो । आर्थिक संकटका कारण व्यापार व्यवसाय सहज रुपमा संचालन हुन सकिरहेका बेला यस्ता मेला महोत्सवहरु पनि राम्ररी चल्न सकिरहेका छैनन् ।

बिर्तामोड अपांगता स्वावलम्बन संस्थाको आयोजनामा बिर्तामोड २ रामचोकनजिकै जारी महोत्सव खासै चलेको देखिदैन । दिउँसो सुनसान हुने महोत्सवमा साँझपख भने कलाकारको प्रस्तुती हेर्न सामान्य दर्शकको उपस्थिति रहने गरेको छ । मेलाको स्वीकृति लिने र केही रकम आफूलाई दिनेगरी आयोजक संस्थाले अर्कालाई मेला ठेक्का दिने प्रचलन बढेको छ । जुनसुकै उद्धेश्य भनिएपनि मेला महोत्सवको मुख्य उद्धेश्य पैसा कमाउनु नै रहेको हुन्छ । आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति महासंघले जनाएको छ ।

वाणिज्य संघको भव्य मेलाको नाफा ४ लाख मात्र !

बिर्तामोडमा गत वर्ष भव्य रुपमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सम्पन्न भयो । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा फागुन ५ देखि १८ गतेसम्म महोत्सव आयोजना गरिएको थियो । दर्शकले खचाखच भरिएको सो महोत्सवबाट खासै मुनाफा नभएको आयोजकले दावी गरेको छ । वाणिज्य संघको छैठौं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सो महोत्सवबाट ४ लाख ८६ हजार ३१८ रुपैयाँ मात्र नाफा भएको हो । महोत्सवबाट १ करोड ५ लाख ९७ हजार ३९७ रुपैयाँ आम्दानी र १ करोड १ लाख ११ हजार ७८ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । महोत्सवका बेला टिकट बिक्रीबाट मात्र करिव १ करोड आम्दानी भएको बताइएको थियो । महोत्सवमा २५० वटा स्टल रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्