झापा, पुष २२ । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्यांकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटीमार्फत मूल्यांकनको सुरुवात गरेको हो ।


आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुंगेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ ।

क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमूल्यांकनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो कामले जिम्मेवार नेता कार्यकर्ताहरुको समेत मूल्यांकन गर्न सहयोग गर्नेछ । बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा लामो समयसम्म योगदान गरेका तर अहिले जिम्मेवारीमा नभएका नेता कार्यकर्तालाई समेट्न संगठन विभागलाई सुझाव दिए ।
नेकपा एमाले झापाका सचिव ढुंगेलले जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र सबै जनवर्गीय संगठनहरुमार्फत मूल्यांकनको काम गरिने जानकारी दिए । पार्टीको तल्लो तहसम्मको अवस्थाको मूल्यांकन गर्ने, नेताहरुलाई जिम्मेवार बनाउन मद्दत गर्ने, कामको मूल्यांकन प्रणालीलाई व्यवस्थित गर्ने र कामको आधारमा जिम्मेवारी दिने, जिम्मेवारी पुरा गरेको आधारमा अवसरको वितरण गर्न अभियान प्रभावकारी हुने उनको भनाई छ । ढुंगेलले भने,‘यो पार्टी जीवनका लागि एउटा परीक्षा पनि हो । यसले नेता कार्यकर्ता र पार्टी दुवैको हित गर्नेछ ।’

माघ १५ सम्म संगठन विभागले मूल्यांकनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन गरिसक्ने जनाएको छ । उक्त प्रतिवेदन संकलनपछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ । संगठन विभागका प्रमुख ढुंगेल भन्छन्,‘ यो सामग्रीलाई पार्टीको वेभसाइटमा समेत अध्ययन गर्न मिल्ने गरी तयार गरिनेछ ।’
सचिव ढुंगेलका अनुसार जिल्ला कमिटीको लागि १७ प्रश्नहरु तयार गरिएको छ । सोही बमोजिम पालिका कमिटी, वडा कमिटी र जनसंगठनहरुलाई प्रश्न तयार गरेर पठाइने छ ।

पार्टी जिल्ला कमिटीबाट तपाईले प्राप्त गर्नु भएको जिम्मेवारी के हो ?, तपाईले जिम्मेवारी प्राप्त गर्नु भएको विभाग÷फाँट भूगोलको बैठक बसेको विवरण उल्लेख गर्नुहोस् । प्राप्त जिम्मेवारी पुरा गर्न तपाईबाट गरिएका महत्वपूर्ण कामहरु के के हुन् ? तपाई पार्टी कमिटीका कुन कुन बैठकमा सहभागी हुनुभयो सबै बैठकको विवरण उल्लेख गर्नुहोस् । यो कार्यकालमा तपाई पार्टीका कुन कुन कार्यक्रममा सहभागी हुनु भयो विवरण उल्लेख गर्नुहोस । यो कार्यकालमा तपाई पार्टीका कुन कुन भेला तथा प्रशिक्षणमा सहभागी हुनुभयो ? उल्लेख गर्नुहोस् । यो अवधिमा पार्टीले सञ्चालन गरेको अभियानहरु मिसन ग्रासरूट, सदस्यता नविकरण अभियानमा कहाँको जिम्मेवारी प्राप्त गर्नुभएको थियो र सो जिम्मेवारी कसरी बहन गर्नुभयो ? यो अवधिममा आम निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । तपाई निर्वाचनमा कहाँ खटिनुभयो ? र तपाईको भूमिका कस्तो रह्यो ?

सामाजिक सम्बन्ध कस्तो राख्नु भएको छ ? विभिन्न सामाजिक संघसंस्था, स्थानीय तह सञ्चालन र जनसरोकारका सवालमा पार्टी कमिटीलाई सहयोग समर्थन र नेतृत्वको लागि के के गर्नुभएको छ ?

यस्तै, पार्टीले घोषणा गरेका अन्य कार्यक्रमहरुमा सहभागिता र नेतृत्व कसरी गर्नुभयो र पार्टी संगठन सञ्चालनमा समस्या देखा परेका छन् ? चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन हुन सकेको छैन । पार्टी संगठन सञ्चालनमा देखा परेका समस्या र समाधानमा तपाईको सुझाव के छ ? पार्टी जिल्ला कमिटीले तयार गरेको बार्षिक कार्ययोजना कार्यान्वयनका लागि के गर्दै हुनुहुन्छ ? पार्टीमा तपाईले कति जना नयाँ सदस्य थप गर्नुभयो ? सामाजिक सञ्जालमा तपाई के के प्रयोग गर्नुहुन्छ ? पार्टीका गतिविधिलाई कसरी प्रचार गर्दै हुनुहुन्छ ? जिल्ला कमिटीको बैठक र पार्टी जिल्लाले आयोजना गरेका कार्यक्रममा नियमित उपस्थित हुनु भएको छ , उपस्थित नहुँदा कारण सहित नेतृत्वसँग बिदा माग्ने गर्नुभएको छ कि छैन ?पार्टी जिल्ला कमिटीलाई बुझाउनु पर्ने आर्थिक दायित्व, लेबी आदि नियमित बुझाउनु भएको छ ? बुझाउनु नभएको भए, किन नबुझाउनु भएको ? र अन्त्यमा पार्टी जिल्ला कमिटीलाई तपाईको केही सुझाव भए दिनुहोस् । भन्ने प्रश्नहरु तयार गरिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्