झापा,पुष २४ । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो ।

प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत भएका हुन् ।

प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमाले संसदीय दलले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन भएका हुन् । झापा गौरादहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुन् । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिए ।

यसअघिका माओवादी केन्द्रबाट चुनिएका सभामुख गौतमले राजीनामा दिएर कांग्रेसका उद्धव थापा नेतृत्वमा गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अहिले कोशीमा एमालेको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसकै केदार कार्कीको नेतृत्वमा सरकार छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

विष्ट विद्यार्थीकालमा २०२७ सालमा अनेरास्ववियूमा आबद्ध थिए । उनी २०३२ सालदेखि पञ्चायतको समर्थक बनेको राजनीतिक पृष्ठभूमि छ । ०३३ सालमा झापाको जुरोपानी गाउँ पञ्चायत वडा ५ का अध्यक्षमा निर्वाचित विष्ट त्यसपछि उपप्रधानपञ्च हुँदै एक दशकसम्म जिल्ला पञ्चायतको उपसभापति रहेका थिए । उनी बहुदलीय व्यवस्था स्थापना भएपछि राप्रपामा सक्रिय रहँदै सहरी विकास बोर्डको सदस्यसचिवमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्