इलाम,पुष २७ । हिजो साँझ इलामको ओडारमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिन चाहनेहरुको भीड लागेको छ ।



   इलामको माईजोगमाई गाउँपालिका–३ स्थित गुप्तीमा ढुंगाको ओडारमा हिजो साँझ ५ बजे  नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनि ढुंगाको ओडारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । माईजोगमाई ३ गिद्दे भिरको ढुंगाको चेपमा अन्दाजी ३–४ दिनको नवजात शिशु (छोरा) बेवारिसे अवस्थामा स्थानीयले घाँस काटेर फर्कने क्रममा बच्चा रोएको सुनी प्रहरी चौकी नाम्सालिङमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगूले बताए । उनले  स्थानीयबासी तथा जनप्रतिनिधिहरुसँग को–कस्ले ,को–कस्को बच्चा  ओडारमा राखेको हो भन्ने सम्बन्धमा बुझ्ने कार्य भईरहेको जानकारी दिए । 

   ती बालकलाई स्थानीय पूर्णबहादुर मगरको घरमा राखिएको माईजोगमाई ३ का वडाध्यक्ष राम घिमिरेले बताए ।  उनले हिजो साँझ स्वास्थ्य जाँच गराउँदा स्वास्थ्य अबस्था ठीक रहेको तर, चिसोका कारण घाँटीमा समस्या  देखिएको जानकारी दिए । शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिन चाहनेहरुको भीड लागेको वडाध्यक्ष घिमिरेले बताए । उनले ती शिशु एडप्ट गर्नका लागि आफूलाई दुई सयभन्दा बढीको फोन आइसकेको जानकारी दिए । ती शिशुको जन्म अस्पतालमै भएको देखिएको छ ।  अस्पतालले दिएको कपडा ती शिशुलाई लगाइदिएको छ । 




प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्