झापा,माघ ८ । आफ्नै दल र गठबन्धन निर्णयविरुद्ध विद्रोह गरेर कोशी प्रदेशको सत्ता सम्हालेका मुख्यमन्त्री केदार कार्कीले जिम्मेवारी लिएको सोमबार (आज) सय दिन पूरा भएको छ।

मुख्यमन्त्री कार्कीले एउटै अस्पतालको नाम फेरेर अर्को अस्पताल सञ्चालनको थालनी गरेका हुन्। शैलजा आचार्य हृदय रोग केन्द्रका नाममा सोमबार उद्घाटन भएको अस्पताल यसअघि दुई फरक नाममा प्रदेश सरकारले सञ्चालन गरेकै अस्पताल हो।

‘कोशी प्रदेशमा हृदयरोग उपचार केन्द्रको आवश्यकता टड्कारो रहेका कारण यो अस्पताल प्रदेशको उपलब्धि हो,’ मुख्यमन्त्री कार्कीले भन्दै आएका छन्, ‘आवश्यकताअनुसार अस्पतालको रुपान्तरण हुन्छ।’

यद्यपि सोमबारदेखि हृदय रोग उपचार सुरु भएको यो अस्पताललाई भने सरकार फेरिएपिच्छे नाम र काम फेर्ने अनौठो होड नै चलेको छ।

प्रदेश सरकारमा नेतृत्व फेरिएपिच्छे अस्पतालको नाम र काम फेर्ने होड चल्नुका पछि काम देखाउने लोभ नै मुख्य कारण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘अस्पताल खुल्नु नराम्रो होइन तर सरकार फेरिएपिच्छे एउटै अस्पतालाई नाम फेर्दै चलाउँदै गर्नु राम्रो होइन’, प्रदेश स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हृदयरोग केन्द्र अन्यत्रै बनाएर यसलाई संक्रामक रोग उपचारकै रुपमा निरन्तरता दिइनुपर्थ्यो। तर राजनीतिक निर्णय गर्ने बेलामा नेतृत्वले काम देखाउने सजिलो उपाय खोज्दै आएको छ।’
प्रदेशका पूर्वस्वास्थ्यमन्त्री जयराम यादवले घुमाउरो रुपमै भए पनि यसलाई स्वीकारेका छन्।

‘सबैको आ–आफ्नो लजिक हुँदो रहेछ’, उनले भने ‘हामीभन्दा अघिको सरकारले कोभिड अस्पताल बनायो, हामीले सबै संक्रामक रोग उपचार केन्द्रमा रुपान्तरण गर्यौं। अहिलेको सरकारले हृदयरोग केन्द्र बनायो। झट्ट हेर्दा सरकार फेरिएपिच्छे अस्पतालको नाम फेरिएको देखिन्छ। यो आ–आफ्नो योजनाको परिणाम होला।’

सोमबारदेखि हृदय रोग केन्द्रमा रुपान्तरण भएको अस्पताल सुरुमा कोभिड अस्पताल थियो। त्यसबेला विश्वव्यापी रुपमा कोभिड १९ को त्रास बढ्दै थियो।

संघीय सरकारभन्दा धेरै अघिदेखि नै कोभिडविरुद्ध सतर्कता देखाइरहेको मुख्यमन्त्री शेरधन राई नेतृत्वको तत्कालीन प्रदेश १ (हाल कोशी) सरकारले विराटनगरमा कोभिडका लागि एउटा ‘डेडिकेटेङ’ अस्पताल निर्माणको तयारी थाल्यो।

सोहीअनुसार प्रदेश सरकारले २०७६ चैत ७ गते ५० शैय्याको ‘कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र’ सञ्चालनमा ल्याउने निर्णय गर्यो।

लगत्तै सञ्चालनमा आएको अस्पतालले कोभिडको पहिलो, दोस्रो लहरमा उदाहरणीय सेवा दियो। सबैले प्रदेश सरकार र तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेको सक्रियताको प्रशंसा गरे।

नेशनल ट्रेडिङ कम्पनीको पुरानो गोदाम भवनमा निर्मित अस्पतालमा प्रदेश सरकारले स्वास्थ्य उपकरणदेखि अन्य सम्पूर्ण व्यवस्थापनका लागि ठूलो धनराशी खर्चेको थियो। ‘त्यसबेला निजी क्षेत्र र सरकारको गरी १० करोडभन्दा बढी खर्च भएको थियो’, पूर्वस्वास्थ्यमन्त्री यादवले भने, ‘पछि स्वीस सरकारले पनि सहयोग गरेको थियो।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्