झापा,माघ ८ । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ।

एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन्।

एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।

राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको बताए।

नेकपा (एमाले) कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रिय सभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको बताए।
केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन्। ‘कोशीमा तालमेल गर्न केन्द्रबाटै सहमति भएर आएको छ,’ उनले भने।

कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्।

कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्