बिर्तामोड, माघ ९ । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ ।

गुणस्तरीयसंगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसंगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ । माघ १५ गते महोत्सव सकिएकै दिन सिटीसेन्टरमा नेपाली जुत्ताघरको सोरुम खोलिने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए । उनले नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डका जुत्ताहरु किन्न अब महोत्सव नै पर्खनु नपर्ने जानकारी दिए । सिटीसेन्टरमा खोलिने सोरुममा आठ वटा कम्पनीका जुत्ता चप्पलहरु महोत्सवकै सहुलियतमा उपलव्ध हुने जानकारी दिए । पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको जुत्ता चप्पल महोत्सवमा ग्राहकहरुको सहभागिता उत्साहजनक रहेको उनको भनाइ थियो ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गतेदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ । महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्