झापा,माघ १० । थपिएको म्यादभित्र समेत ठेकेदारले बिर्तामोड– भद्रपुर सडकको निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको छ ।

सो सडकका लागि फागुन ६ गतेसम्म म्याद थप गरिएको हो । सडक निर्माणको ठेक्का पाएको काठमाडौंको कन्टेक प्रालिले निर्माण सम्पन्न गर्नुपर्ने म्याद गत साउन ५ सम्म रहेको थियो । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले गत साउन ५ अर्थात ३० महिनामा काम सम्पन्न गर्नुपर्ने संझौता रहेको थियो । त्यस अवधिभित्र करिव ३० प्रतिशत मात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले आगामी फागुन ६ गतेसम्म म्याद थप गरेको हो ।

अहिलेसम्म करिव ३७ प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले धौला पुलदेखि देउनियासम्मको करिव ४ किलोमिटर सडक जसरी पनि निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए । बल्लतल्ल धौला पुलदेखि देउनियासम्म सडक बनेपनि देउनियादेखि पूर्वपट्टिको सडकखण्ड यस वर्ष निर्माण नहुने भएको छ । बजेट अभावका कारण यस वर्ष देउनियादेखि चन्द्रगढीसम्मको सडकखण्ड निर्माण नहुने डिभिजन इन्जिनियर पौडेलले बताए ।

निकै दबाबपछि बल्ल धौला पुलदेखि देउनियासम्मको सडक पूरा हुन लागेको हो । जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरुले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटकपटक स्पष्टीकरण सोधेको थियो । त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सडक निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस सडकमा अबको १५ दिनपछि कालोपत्रको काम शुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्