झापा,माघ २३ । ताप्लेजुङमा पाँच दिनदेखि बेपत्ता एक वृद्ध मृत फेला परेका छन् ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वृद्ध ७१ वर्षीय रामबहादुर महताराको पाँच दिनपछि शव फेला परेको हो ।

प्रहरीका अनुसार सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–७ दोखुको तोक्मेडाँडा सामुदायिक नर्सरी वनक्षेत्रमा महताराको शव सोमबार फेला परेको हो । महतारा गत बिहीबारदेखि घरबाट निस्किएर सम्पर्कविहीन भएका थिए।

फुङ्लिङ बजारको वीरेन्द्र चौकस्थित छोराको घरमा बस्दै आएका महतारा घरबाट निस्केपछि सम्पर्कमा नआएको भन्दै आफन्तले खोजतलासका लागि शनिवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उनको खोजतलासका क्रममा सोमबार दिउँसो नर्सरी वनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्