![](https://pratidindaily.com/wp-content/uploads/2024/02/Nepal-t20-wcq-1699353565-1024x683.jpg)
झापा,माघ २३ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपअघि नेपालले कम्तिमा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ।
नेपालले फेब्रुअरीमा घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।
बिहीबारदेखि हुने क्यानडाविरुद्धको एकदिवसीय सिरिज र त्यसपछि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजपछि टी–२० सिरिज हुनेछ।
नेपालले क्यानडासँग तीन वटा एकदिवसीय खेल खेल्दैछ। त्यसका लागि क्यानडाको टिम आज राति मलेसियाबाट काठमाडौं आइपुग्दैछ।
यो सिरिजपछि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग दुई दुई वटा एकदिवसीय खेल गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।
यसरी सात वटा एकददिवसीय खेल खेलपछि नेपालले नेदरल्यान्ड्स र नामिबियासँग टी–२० सिरिज खेल्ने भएको हो। लिग–२ को अघि वा पछि टी–२० सिरिज खेल्ने क्यानको नीतिअनुसार फागुन दोस्रो सातादेखि टी–२० सिरिज हुन लागेको हो।