झापा,माघ २५ । दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धव रिजालका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र विभाले छपाई कार्य सुरु गर्नेछ । उनले भने, “दुई हप्ता अघि नेपाल आइपुगेको छ लाख स्मार्ट कार्ड लाइसेन्सको छपाइ कार्य यसको गुणस्तर जाँच सकेपछि मात्र गछौँ, अहिले यसको ल्याब टेस्ट र गुणस्तर जाँच नै सकिएको छैन ।” यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग कम्पनीसँग स्मार्ट लाइसेन्स छपाइका लागि १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।

सोही बमोजिम जर्मनीको भूलवर्ग कम्पनीले पहिलो चरणमा छ लाख थान स्मार्ट लाइसेन्स नेपाल पठाएको हो । ल्याब टेस्ट र गुणस्तर जाँच सकेर विभागलाई हस्तान्तरण गरे लगतै द्रुत गतिमा लाइसेन्स छपाइको काम थालिने उनको भनाइ छ ।

उनले भने,“कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच सकेर प्राप्त भए लगत्तै द्रुत गतिमा लाइसेन्स छपाइ थाल्छौँ ।” अहिले विभागसँग एउटा मात्र छपाइ मेसिन भएका कारण छपाइ प्रक्रिया केही लम्बिन सक्ने रिजाल बताउछन् । उनका अनुसार नेपालस्थित जर्मन दूतावासले दुई दिनमा कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेर विभागलाई हस्तान्तरण गर्ने जनाएको छ ।

कार्डमा केही समस्या देखिए दुवै तर्फका प्राविधिक बसेर यसको समाधान गरिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्