झापा,माघ २६ । अध्यागमन विभागले ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेको हुन् ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले भने ।

‘ई–भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकारका सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ । सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए । उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए । विभागले नयाँ वेवसाइट शुक्रबारदेखि सुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्