झापा , माघ २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका छन् ।

कांग्रेसबाट मन्त्री नियुक्त सुनुवार ओखलढुंगा क्षेत्र नं १, खत्री उदयपुर २ (२) र राज्यमन्त्री थापा धनकुटाकी समानुपातिक प्रदेश सांसद हुन् । त्यसैगरी माओवादीवाट मन्त्री बनेका बुर्जा मगर उदयपुर क्षेत्र नं २ (१) र कार्की संखुवासभा १ का प्रदेश सांसद हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।

यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका ८ सांसदको विद्रोह र नेकपा एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले त्यसबेला एमालेका रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई मन्त्रीमा नियुक्त गरेका थिए । पछिल्लो मन्त्रिपरिषद् विस्तारमा कार्कीले माओवादी केन्द्रलाई समेटेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्