बिर्तामोड, माघ २९ । झापाको बिर्तामोडमा अटिजमसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियन दूतावासको आर्थिक सहयोगमा न्याय र विकासका लागि सामाजिक सञ्जाल झापाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको पहिलो दिन माघ २८ गते अटिजम भएका बालबालिकाका अभिभावकहरुलाई अटिजमका लक्षण, उनीहरुले देखाउने व्यवहार आदिको बारेमा जानकारी दिइएको थियो ।

अटिजम केयर नेपाल सोसाइटीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बज्राचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए । पछिल्लो समय अटिजम भएका बालबालिकाहरुको संख्या बढिरहेको विभिन्न अध्ययनहरुको तथ्याङ्क प्रस्तुत गरिएको थियो । अटिजम कुनै रोग, मानसिक तथा बौद्धिक अपाङ्गता नभई यो मानिसको अवस्था भएको बताइएको छ । अटिजम भएका बालबालिकाहरुमा फरक फरक क्षमता हुने र उनीहरुलाई छुट्टै किसिमको हेरचाह र व्यवहार आवश्यक भएको जानकारी दिइयो । अटिजम भएका बालबालिकाहरुको व्यवहारमा अभ्यासको माध्यमबाट फरकपन ल्याउन सकिने भएपनि जीवनभर उनीहरुलाई सहाराको आवश्यकता हुने बज्राचार्यले बताए ।

कार्यक्रमको दोस्रो दिन सोमबार स्थानीय तहका प्रमुख, उपप्रमुख, डाक्टर, कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको थियो । पछिल्लो समय ३६ जना बालबालिकामा एक जनामा अटिजम हुने सम्भावना रहेको जानकारी दिँदै सहजकर्ता बज्राचार्यले अटिजम भएका बालबालिकाहरुलाई राज्यले नै नीति बनाएर छुट्टै किसिमको सेवा तथा वातावरण तयार गर्नु पर्ने बताए । पालिकाहरुले अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको सहभागीहरुले बताए । अभिभावकहरुले शारीरिक दुर्बलताका आधारमा नहेरी अटिजम जटिल अवस्था भएकाले उनीहरुलाई रातो कार्ड दिइनुपर्ने धारणा राखेका थिए ।


बच्चाले उमेर अनुसार व्यवहार गरेन भने, आफूलाई आवश्यक सामान अरुको हातले देखाएर माग्न थाल्यो भने, आवाजसँग दिग्दारी मान्यो भने, बोलाउँदा आँखा जुधाएन वा नसुने जस्तो गर्यो भने अटिजम भएको हुनसक्ने भएकाले डाक्टरसँग परामर्श गर्नु पर्ने बज्राचार्यले जानकारी दिए । सानै उमेरमा अटिजम पहिचान गर्न सकियो भने उनीहरुको व्यवहारमा परिवर्तन ल्याई जीवन सहज बनाउन सकिने भएकाले स्थानीय तहका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अटिजम पहिचानका लागि तालिम लिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले अटिजम जटिल अवस्था भएको र यो संख्या बढिरहेकाले यसका लागि आवश्यक कदम चाल्न जरुरी रहेको बताइन् । अटिजमका बारेमा समाजले राम्रोसँग बुझ्न सके त्यस्ता बालबालिकालाई गर्ने व्यवहारमा एकरुपता हुने उनले बताइन् ।

कार्यक्रममा १२ वटा पालिकाका जनप्रतिनिधिहरु र सबै पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुलाई न्याय र विकासका लागि सामाजिक सञ्जाल झापाका कार्यक्रम संयोजक कुमार चुँडालले स्वागत गरेका थिए भने कार्यक्रम अधिकृत रञ्जन धमलाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्