झापा,फागुन १ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल भारतको दशगजा क्षेत्रलाई जोड्ने उर्लाबारी– आमवारी–गाईघाट– सिजुवा –भद्र चौक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ । नेपाल भारत सीमाको ३८ नं. पिलर हुँदै भारतको डोरियासँग जोड्ने यो सडक निर्माण कथा जस्तै बनिसकेको छ ।
पञ्चायत काल, बहुदल हुँदै गणतन्त्रका डेढ दशक बितिसक्दा पनि यो सडक बन्न सकेको छैन । नेपाली काङ्ग्रेस सरकारमा रहँदा जीपी राजमार्गको रूपमा सडक विस्तार गर्ने योजना बन्यो । काङ्ग्रेस सरकारबाट हटेपछि सोही सडकको नाम फेरिएर मदन भण्डारी राजमार्ग बन्यो । नाम फेरिएपछि काम हुनेमा स्थानीय आशावादी थिए । तर निर्माणको काम भने कछुवाको गतिमा अघि बढिरहेको छ । यो सडकले खासगरी मोरङको सबैभन्दा पूर्वी क्षेत्रका गाउँहरूलाई छुन्छ । उत्तरमा उर्लाबारी नगरपालिकाभित्र १२ किलोमिटर र दक्षिणतर्फ रतुवामाई नगरपालिकाभित्र १७ किलोमिटर गरी यो सडक कुल २९ किलोमिटर लम्बाइको छ । उर्लाबारी क्षेत्रमा सङ्घीय सरकारको तराई मधेश समृद्धि आयोजना,सङ्घीय सहरी विकास आयोजना, कोशी प्रदेश सरकारको प्रदेश सहरी विकास आयोजना र प्रदेश पूर्वाधारको बेग्लाबेग्लै आयोजनाबाट कालोपत्रेको काम भइरहेको छ ।

एउटै सडकमा सङ्घ र प्रदेश सरकारका विभिन्न निकायले काम गर्दा प्राविधिक रूपमा समस्या आइरहन्छन् । तर टुक्रा टुक्रा गरेर भए पनि निर्माणाधीन सडक सम्पन्न गर्नुपर्ने भएकोले सबै आयोजनामा उर्लाबारी नगरपालिकाले सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्