झापा,फागुन १ । विराटनगर महानगरपालिका–३ मा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विराटनगर ३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै बम जस्तो देखिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
मोरङ जिल्लामा तैनाथ भैरव गणका सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु डिस्पोज गरिएको हो । शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले नियन्त्रणमा लिएर उक्त वस्तु डिस्पोज गरिएको हो। कालो टेपले बाँधिएको प्रेसरकुकरभित्र २७ डेटोनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ ।

शंकास्पद बस्तु राखेर आतंक सृजना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँको भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका– १ का ३० वर्षीय विपिन अधिकारी छन् ।

विभिन्न विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा उनीहरुले चन्दा आतंक मच्चाइरहेको प्रहरीले बताएको छ ।

यो समूहले पछिल्लो केहीसमय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको प्रहरीले जनाएको छ ।

उनीहरुले चन्दा नदिए बम विष्टफोट गराउने धम्की समेत दिने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको छ ।

अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोग सम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्