झापा,फागुन २ । कुनै बेला एफ.एम.रेडियोहरुको उर्वरभूमि रहेको झापामा १० वटा एफ.एम.बन्द भएका छन् ।

बजारले धान्नै नसक्ने गरी लहडमा खोलिएका एफ.एम. रेडियोहरु चल्न नसकेर धरासायी बन्दै गएका हुन् । एक समय झापामा २३ वटा एफ. एम. रेडियो खुलेका थिए । तर, अहिले १० वटा एफ.एम. बन्द छन् भने बाँकी १३ वटा एफ.एम. पनि मुश्किलले चलिरहेका छन् । साविक मेची अंचलमै पहिलो पटक २०५९ सालमा कंचनजंघा एफ.एम. खुलेको थियो । सोही कंचनजंघा एफ.एम. बन्द भएको तीन वर्ष भइसक्यो । त्यस्तै बिर्तामोडकै सनराइज एफ.एम. र आरम्भ एफ.एम. बन्द छन् । त्यस्तै चारआलीको ग्लोबल एफ.एम. , धुलावारीको रेडियो सरगम , काँकडभिट्टाको सिमाना एफ.एम. ,मेची ट्युन्स ,सुरुङ्गाको सन्देश एफ.एम., दमकको स्टार एफ.एम. र झापा एफ.एम.चल्न नसकेर बन्द रहेको व्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का कोशी प्रदेश अध्यक्ष गिरिराज भट्टराईले बताए ।

झापाको बिर्तामोडमा रेडियो भिजन , आँगन एफ.एम. ,रेडियो विराट, दमकमा सप्तरंगी एफ.एम., हिमशिखर एफ.एम.,पाथीभरा एफ.एम., किंग एफ.एम. , अर्जुनधारामा मेरो रेडियो , एवान एफ.एम., भद्रपुरमा नागरिक एफ.एम. ,मेचीनगरमा साथी एफ.एम. , मन्त्र एफ.एम. र गौरादहमा एफ.एम.प्लस संचालनमा रहेका छन् ।

बजार नहेरीकन एफ.एम. रेडियोहरुको लाइसेन्स वितरण गर्दा अहिलेको समस्या आएको प्रदेश अध्यक्ष भट्टराईले बताए । उनले एफ.एम.हरुको समाचार र कार्यक्रम कमजोर हुनु, अस्वस्थ प्रतिष्पर्धा गर्नु , प्रविधिअनुसार चल्न नसक्नुले पनि एफ.एम.हरुप्रति आकर्षण घट्दै गएको बताए । एफ.एम.हरु टिक्नका लागि अनलाइन, फेसबुक लाइभजस्ता माध्यमलाई सहयोगीको रुपमा अपनाउनु पर्ने उनको भनाई छ ।

त्यसो त कोरोना महामारी र आर्थिक मन्दीका कारण झापाका दुईतिहाई दैनिक पत्रिकाहरु पनि बन्द भएका छन् । झापामा अहिले चारवटा मात्र दैनिक पत्रिका संचालनमा छन् । अहिले बिर्तामोडबाट प्रतिदिन दैनिक , पूर्वाञ्चल दैनिक , इजलास दैनिक र दमकबाट पूर्व सन्देश दैनिकमात्र प्रकाशन भइरहेका छन् । मेचीनगरका जनसंसद दैनिक , लोकतन्त्र पोष्ट , बिर्तामोडका विवेचना दैनिक , मेची टाइम्स दैनिक , अर्जुनधारा दैनिक , बज्रपात दैनिक , तहल्का दैनिक , दमकका मासलाइन दैनिक , पिपुल्स टाइम्स दैनिक, झापा पोष्ट दैनिक , भद्रपुरका हिजो आज दैनिक , झापा एक्सप्रेस , मेची खबर दैनिक ,कान्तिपुर दैनिक बन्द छन् । तीमध्ये केही पत्रिका उहिले बन्द भएका हुन् भने केही बन्द भएको दुई–चार वर्ष मात्र भएको छ ।

त्यस्तै झापाका आधाजति साप्ताहिक पत्रिका पनि बन्द नै रहेको नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले बताए । छापा माध्यम र एफ.एम. बन्द भइरहँदा झापामा अनलाइन न्युज पोर्टल खोल्ने लहड चल्न थालेको छ । जिल्लामा अहिले चार दर्जनको हाराहारीमा अनलाइनहरु खोलिएका छन् । तर,व्यवसायिक रुपमा अनलाइनहरु पनि संचालन हुन गाह्रो परिरहेको महासंघका सचिव लामाको भनाई रहेको छ ।

यसैबीच व्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान)ले १३ औं विश्व रेडियो दिवस मनाएको छ । बान कोशी प्रदेश समितिको आयोजनामा सुनसरीको ईटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बान कोशी प्रदेश समिति अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले सञ्चारमा प्रविधिको विकास भए पनि रेडियो नै सञ्चारको प्रभावकारी माध्यम भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले मुलुकको हरेक राजनैतिक परिवर्तनदेखि सामाजिक परिवर्तन समेतमा रेडियोको महत्वपूर्ण भूमिका रहेको बताए । प्रविधिहरुमा आएको विकाससंगै रेडियो सञ्चालनमा केहि चुनौति आएको भए पनि अहिले पनि रेडियो सञ्चारको प्रभावकारी माध्यम भएको उनले बताए । प्रदेश सरकारले हालै प्रदेशसभामा सञ्चारसम्बन्धी विधेयक पेश गरेको भन्दै उनले यो विधेयक पास भएपछि धेरै कानुनी समस्या समाधान भएर जाने दाबी गरे । उनले कोशी प्रदेशमा रहेका व्यवसायिक रेडियोहरुलाई बचाईराख्न प्रदेश सरकारको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको आश्वासन दिए ।
कार्यक्रममा बानका केन्द्रीय सल्लाहकार प्रेम बस्नेत, केन्द्रीय सदस्यहरु हिमाल राई र बाबुराम निरौला, पत्रकार महासंघ केन्दी्रय सदस्य अमक खड्का, ईटहरी उद्योग बाणिज्य संघकी उपाध्यक्ष शोभा कोईरालालगायतले बोल्दै अहिले पनि सञ्चारमा रेडियो नै प्रभावकारी रहेको भन्दै पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौति थपिएको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बानका पूर्व केन्द्रीय सल्लाहकार चेतन धमलाले रेडियो सञ्चालन चुनौति र संभावना बिषयमा अवधारणापत्र प्रस्तुत गरेको बान कोशी प्रदेश उपाध्यक्ष अरबिन्द मेहताले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्