कनकाई, फागुन २ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय हातामा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री वितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डित गर्ने निर्णय गरको छ ।

कनकाई नगरपालिकास्थित सुस्तमनस्थिति सरोकार समाजको कार्यालयमा ११ औं राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आयोजना गरेको विविध कार्यक्रमपछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैरव्यवसायीमार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाईए पहिलो पटक १० हजार र त्यसपछि पटकैपिच्छे साविकको जरिवानामा दोव्बर जरिवाना थप गर्ने नियम भएको महासंघ झापाका बरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए ।

विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाउने कानुनी प्रावधान छ । विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाईएमा ती वस्तु जफत गरी स्थानीय तहमा बुझाउने र विद्यालयलाई विभागीय कार्वाहीका लागि नेपाल सरकारका निकायमा पत्राचार गर्ने पनि निर्णय भएको महासंघ झापाले जनाएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरीको सदस्यता लिन वा नवीकरण गर्न छुटेका व्यवसायीको हकमा फागुन मसान्तसम्मको समयसीमा थप भएको छ । साविकको शुल्कमा विलम्व शुल्क बुझाएर व्यवसायिक फर्म दर्ता वा नवीकरण गर्न सकिने महासंघ झापाले जनाएको छ ।

यसअघि १ हजार ५ सय बुझाएर महासंघ झापाको सदस्यता लिन सकिने प्रावधान थियो । अब ३ हजार बुझाएर सदस्यता खरिद गर्न पाउने महासंघले निर्णय गरेको छ । महासंघ झापाका सचिव चन्द्रमणि घिमिरेका अनुसार बिलम्ब शुल्क ३ हजार तिरेर फागुन मसान्तसम्मको समयसीमा थप गरिएको हो ।

यस्तै महासंघले पुस्तकको अंकित मूल्यमा खुद्रा बिक्रेताले पाउँदै आएको सुविधा बृद्धि गर्न गराउनका लागि लिखित रुपमा पहल गर्ने निर्णय गरेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय समिति, प्रदेश समिति, प्रकाशक संघ र प्रकाशन गृहलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ । झापाले पाउँदै आएको सुविधा कटौती भएको विषयमा व्यवसायी– व्यवसायीबीच गम्भीर समीक्षा पनि भएको थियो । आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तकको खरिद बिक्रीमा नगदको कारोवार हुने पनि निर्णय भएको छ ।

गएको माघ १२ गतेको पाठ्यपुस्तकका अधिकृत बिक्रेता, बजार प्रतिनिधि र खुद्रा बिक्रेताको संयुक्त भेलाले पाठ्यपुस्तकको खरिद बिक्री वितरणलाई मर्यादित, व्यवस्थित र सहज रुपमा अगाडी बढाउन केही नीतिगत निर्णयका लागि कार्यदल गठन गरेको थियो ।

महासंघ झापाका सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलको फागुन १ गते बसेको बैठकले ८ बँुदे निर्णय गरेर महासंघ झापामा बुझाएको थियो । कार्यदलको निर्णयलाई महासंघ झापाको बुधबार बसेको बैठकले अनुमोदन गरी प्राप्त निर्णयलाई कार्यान्वयन गर्ने महासंघ झापाले निर्णय गरेको छ ।
यसैबीच ११ औ राष्ट्रिय पु्स्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले कनकाई १ स्थित सुस्तमनस्थिति सरोकार समाजका १५ जना अपांग बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ । उनीहरुलाई महासंघले पाठ्यपुस्तक, शैक्षिक सामग्री, खेलौना, खाद्यान्नलगायतका वस्तु प्रदान गरेको छ ।
महासंघ झापाले सुस्तमनस्थिति सरोकार समाजलाई नेपालको राष्ट्रिय झन्डा पनि प्रदान गरेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष जीवनप्रसाद नेपाल, उपसचिव टंक भट्टराई र सदस्य सुरेन्द्र दाहाललाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख पोख्रेलले तीनै जनालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका हुन ।
नगर प्रमुख पोख्रेलले स्थानीय तहका व्यवसायीको अधिकार संरक्षण गर्न कनकाई नगरले कुनै पनि कसर बाँकी नराख्ने बताए । ‘नगरपालिकाले गर्ने हरेक सहयोग बैधानिक हुन्छ । कानुनभन्दा बाहिर नजाने प्रकृतिको सहयोग गर्न नगरपालिका सँधै तत्पर छ,’ उनले भने ।
महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेश अध्यक्ष जीवनप्रसाद नेपाल, पूर्व केन्द्रीय सदस्य फडिन्द्रराज न्यौपाने, सल्लाहकार समितिका सदस्य पुष्पराज प्रसाईँलगायतको सहभागिता थियो । महासंघ झापाका सदस्य दुर्गाप्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव चुडामणि घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्