झापा , फागुन २ । झापाको भद्रपुरमा आज साँझ भारतीय नम्बरको कारको ठक्करबाट चार जना घाइते भएका छन् ।

साँझ ६.४५बजेको समयमा भद्रपुर –६ नेपाल टेलिकम छेउमा भद्रपुर बजारबाट चन्द्रगढीतर्फ जाँदै गरेको भारतीय नं.WB 74H4441 को कारले रोकिराखेको मे ८ प ७८६२ नं. को मोटरसाइकल , मे ४ प ६०६५ नं.को स्कुटर र पैदलयात्रीहरुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर ६ बस्ने ३१ वर्षीय बिष्णु कामती, स्कुटर चालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन कामती, पैदलयात्रीहरु सोही ठाउँ बस्ने १६ वर्षीय शिवम कर्ण र २० वर्षीय राजु राय घाइते भएका हुन् । प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भईरहेको घाइतेहरुको निधार र खुट्टामा चोट लागेको छ ।

कार चालक भारत दार्जिलिङ खोरीबारी घर भई हाल भद्रपुर ७ बस्ने ३६ वर्षीय राजु ओझालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्