झापा, फागुन ५ । आफ्नो १३ महिनाको कामको विवरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल विदा भएका छन् ।

नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईलाई स्वागत गर्दै उनी नियमित सरुवाअन्तर्गत केन्द्रीय हेडक्वार्टर सचिवालय जाने भएका छन् । शनिवार एक अनौपचारिक कार्यक्रमका बिच अर्यालले नं.२ गण हेडक्वार्टर इन्चार्जको जिम्मेवारी गणपति राईलाई सुम्पिएका हुन् ।

बिदाई कार्यक्रममा प्रहरी उपरीक्षक अर्यालले आफ्नो १३ महिना झापा बसाइ अत्यन्तै सुखद र परिणाममुखी बनेको बताए । अन्य जिल्लाभन्दा झापाली नागरिक समाज, राजनीति दलका नेता र संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहनेहरू अत्यन्तै सहयोगी, रचनात्मक कार्यशैली गुण भएका कारण आफूलाई काम गर्न सहज भएकाले आफ्नो कार्यकाल सफल बन्न सकेको भन्दै सशस्त्र प्रहरी उपरीक्षक अर्यालले झापालीहरूलाई धन्यवाद दिएका छन् ।

सोही अवसरमा प्रहरी उपरीक्षक अर्यालले आफ्नो कार्यकालमा भएका कार्यसम्पादन र प्रगति विवरण प्रस्तुत गरेका छन् ।
२०७९ माघ १५ गतेदेखि २०८० माघ मसान्तसम्म अवैध सामान चोरी निकासी पैठारी बरामदबाट प्राप्त भएको राजस्व १३ करोड ८२ लाख ३३ हजार ५१९ रुपैयाँ रहेको विवरण प्रस्तुत गरेका छन् । सोही अवधिको अघिल्लो वर्ष ४ करोड ६३ लाख १६ हजार ६०० रुपैयाँ रहेको बताइएको छ ।

चालु आर्थिक वर्षमा १ करोड १६ लाख ८४ हजार ८५० रुपैयाँ मूल्य बराबरको ९ वटा सवारीसाधनसहित ११३८.८३ क्युफिट र ३ वटा गोलिया काठ बरामद भएको थियो ।

प्रस्तावित बिओपी चमरभिट्टाको नाममा निःशुल्क जग्गा प्राप्त, प्रसीसु गुल्म काँकडभिट्टाको लागि ९ कठ्ठा २ धुर जग्गा खरिद गरी भवन निर्माण कार्यको सुरुवात, प्रसीसु गुल्म भद्रपुरको लागि १० कठ्ठा जग्गा खरिद गरी भवन निर्माण कार्य सुरु, बिओपी महेशपुरको लागि थप भवन निर्माण कार्यको सुरुवात, विओपी ज्यामिरगढीको लागि एक बिघा जग्गा भोगाधिकार प्राप्त भई भवन निर्माण कार्यको सुरुवात, सुरक्षा वेस शनिश्चरेको लागि भवन निर्माण, बिओपी आल्तावारी, बिओपी डाँगाबारी र बिओपी लालमाटीको उद्घाटन, दशगजा सरसफाई, १४४.०२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा इलाका रहेकोमा ३७ स्थानमा दशगजा इलाकामा गरिएको खेतीपाती हटाइएको, दशगजा क्षेत्रमा रहेका १७ वटा घरटहरामध्ये १२ वटा घरटहरा हटाइएको, भारतीय सुरक्षा एसएसवी र नेपालको एपिएफबिचको समन्वय, सहकार्यमा ७ हजार ६६३ पटक संयुक्त गस्ती गरिएको प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी सीमा मर्मत संम्भार तथा रङ्गरोकन कार्यअन्तरगत नेपालतर्फबाट ३१७ वटा बिजोर नम्बरका सीमा स्तम्भहरूको मर्मतसम्भार तथा रङ्गरोकन, एसएसवीको तर्फबाट १४८ वटा जोड नम्बरका सीमा स्तम्भहरू मर्मत सम्भार रङ्गरोकन गर्ने काम भएको छ । सो क्रममा ७ वटा सीमा स्तम्भहरू फेला परेको बताईएको छ ।

झापा जिल्लामा डग स्क्वार्ड स्थापना, मुख्य तथा सहायक सीमा नाकाबाट आवत जावत गर्ने मानिसहरूको आवत जावत संख्या दर्ता व्यवस्था, कोशी प्रदेश नामकरणको विषयलाई लिएर सुरु भएको पहिचानको आन्दोलन तथा अन्य विविध जातीय आन्दोलनमा जिल्लाका सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरि शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न व्यवसायिक भूमिका निर्वाह गर्न सफल भएको, सीमासँग जोडिएको अप्रेसन गणहरू मध्येबाट सर्वोत्कृष्ट गण बन्न सफललगायत प्रगति विवरणहरू प्रस्तुत गरिएको थियो । बिदाई तथा स्वागत कार्यक्रममा उपस्थित नेपाल राष्ट्रिय अनुसन्धान झापाका प्रमुख प्रहरी उपरीक्षक कुलचन्द्र नेपाललाई पनि स्वागत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्