बिर्तामोड,फागुन ५ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ट पुरस्कारअन्तर्गत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरूमा बर्षोत्कृष्ट कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा विशेष प्रतिभा सम्मानबाट साहित्यकार पुण्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ र अपाङ्गता भएका व्यक्तिहरूबाट पदम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले पुरस्कृत व्यक्तित्वलाई सम्मान प्रदान गरे । साहित्य र पत्रकारिता पुरस्कारको राशि जनही २५ हजार नगद रहेको छ भने अपाङ्गता विशेष पुरस्कारको राशि ११ हजार रहेको छ ।
संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले पुरस्कृत प्रतिभा घोषणा गरेको कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार कोमल पोखरेलले प्रकाश पारेका थिए भने सम्मानपत्र वाचन सञ्जु सिवाकोटीले गरेकी थिइन् ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथिहरू मोहन भण्डारी, खगेन्द्रप्रसाद प्रसाईँ, पुरस्कृत व्यक्तित्वहरू सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् ।

सोही कार्यक्रममा होम सुवेदीद्वारा लिखित छताछुल्ल कृतिको विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसहित उपस्थित अतिथिहरूले कृतिको लोकार्पण गरेका थिए ।२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले बर्सेनि साहित्य र पत्रकारिता क्षेत्रमा सम्मान र पुरस्कार गर्दै प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्