झापा,फागुन ५ । १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता शनिवारदेखि झापाको अर्जुनधारा नगरपालिकामा सुरु भएको छ ।


अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा आयोजित एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले गरे । उनले निर्णायकलाई भलिबल र कराते ग्लोब्स हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि मन्त्री राईले खेलकुदको माध्यमबाट मात्र देशलाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तयार रहेको बताए ।

आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्लाका १५ वटै पालिकाबाट सहभागिता जनाएका खेलाडी छात्र–छात्राले मार्चपास गरेका थिए । समितिका सदस्य चेतामणि खनालले सञ्चालन गरेको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा शनिश्चरे माविका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा जिल्ला खेलकुद विकास समिति झापाले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थयो । १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बन्न सफल हुनुका साथै नगरभित्र खेलकुदलाई प्राथमिकतामा राखेर खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै समितिले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको हो । प्रमुख अतिथि मन्त्री राईले नगर प्रमुख गोम्देनलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । नगरको सम्मानपत्र समितिकी उपाध्यक्ष गंगा भुर्तेल कोइरालाले वाचन गरेकी थिइन् ।

त्यसै अवसरमा आर्चरी विधामा अन्तर्राष्ट्रिय खेल खेल्न इराकको राजधानी बगदाद जान लागेकी समिति सदस्य गंगा तुम्बापोलाई मन्त्री राईले खादा लगाइदिएर सफलताका लागि शुभकामना दिएका थिए ।
उद्घाटन समारोहमा खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षासेवी, पूर्व खेलाडीहरु, वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि हालै सम्पन्न समितिको बैठकले समितिका पदाधिकारी तथा समितिमातहतका प्राविधिक–प्रशिक्षकहरुलाई जिम्मेवारी बाँडफाँट गरेको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा आयोजना गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
पहिलो दिन भलिबल, कबड्डी र उसुका खेलहरु भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्