झापा, फागुन २९ । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो २४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन हिजो दिनभरि झापा, मोरङ, इलाम र भारतका समेत गरी १० वटा दमकल प्रयोग भएका थिए भने नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित थिए ।

अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । उनले लगातार आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । हिजो झापाका ७ , मोरङ र इलामका एक–एक र भारतका एक गरी १० वटा दमकल खटिएका थिए ।

तीमध्ये भारत , मोरङ र इलामका दमकलहरु राति नै गइसकेको र अहिले झापाका पाँचवटा दमकलले आगो निभाइरहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक रोहित शर्माले बताए । अहिले नेपाल प्रहरी २० जना र सशस्त्र प्रहरी १५ जना आगो निभाउन खटिरहेको जनाइएको छ ।

जिल्लाकै ठूलो प्लाइउड उद्योगमा हिजो बिहान अचानक आगो लागेपछि सुरक्षाकर्मी, स्थानीय र दमकलले आगो नियन्त्रण प्रयास गरेको २१ घण्टा बितिसक्दा पनि नियन्त्रण हुन नसकेको हो । आगो निभाउन असम्भव भएपछि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा एउटा दमकल बोलाइएको थियो ।आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ ।

बिहान ५ः३० बजेको समयमा भगवती प्लाई उद्योगमा चिफरको धुलो तातिन गई आगलागी भएको हो । उद्योग,उद्योगभित्र रहेका क्वाटर,काठको गोलिया राखेको स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्