झापा,फागुन २९ । कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको संख्या घटेको पाइएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुसको अन्तिम साता राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रव्यापी रूपमा हिमाली प्रकृति संस्थाले पानीमा आश्रित रहने चराको गणना सुरु गरेको थियो ।

सन् २०२३ मा ५६ प्रजातिका सात हजार ५५३ वटा चरा गणना गरिएकामा यस पटक आरक्षमा ५३ प्रजातिका पाँच हजार ५२७ वटा मात्र चरा भेटिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पहिला ५२५ प्रजातिका चराको रेकर्ड रहेकामा थप छ प्रजातिका चरासहित ५३१ प्रजातिको रेकर्ड गरिएको छ ।

केही वर्षअघिसम्म हजारौँको संख्यामा देखिने चरा पछिल्लो वर्षमा घट्दै गइहेका छन् । नयाँ प्रजातिका चरा आउने व्रmम बढे पनि यस वर्ष चराको प्रजाति र संख्यामै कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीटप्पु केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । उनका अनुसार सिलसिले हाँस ८४८ को संख्यामा देखिएको छ । चखेवा ५०६, राज हुटिट्याउँ ४५५, जलेवा ४४५, वस्तु बकुल्ला ३७६, सानो जलेवा ३७१, कर्रा सवारी २७५, लामाऔँले २२२, आसकोटे बकुल्ला २१० र जलरङ १८७ को संख्यामा रेकर्ड गरिएको छ ।

सन् २०१९ मा कोशीटप्पुमा चराको संख्या नौ हजार २८९ रेकर्ड गरिएको आरक्ष कार्यालयले जनाएको छ । चरा गणनामा चराविज्ञ र संरक्षणकर्मीको सहभागितामा पाँच दिनसम्म आरक्ष क्षेत्रको कोशी नदी, कोशीटप्पुको भागलपुर, कोशी ब्यारेज र बर्जु तालमा गरिएको थियो । आरक्षको समवन्यमा कोशी पन्छी समाजले चराको गणना गरेको थियो । चराको संख्या घट्दै गएको प्रतिसरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पहिला हजारौँको संख्यामा देखिने चखेवा दुई÷तीन वर्षदेखि घट्दो क्रममा रहेको संरक्षण कोष कोशीटप्पु केन्द्रका प्रमुख गौतमले बताए ।

खेतबारीमा किरा नियन्त्रणका लागि जथाभाबी रूपमा किसानले विषादी प्रयोग गर्दा किरा खाएर बाँच्ने चराको प्रजनन क्षमता कमजोर हुँदै गएको छ  । चराको प्रजनन क्षमता कमजोर हँुदा चरा घट्ने क्रम बढ्दो रहेको छ । चरा घट्दै गए प्राकृतिक सङ्कट हुने चराका जानकार अनिश तिम्सिना बताउछन् । चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भएका ठुला सिम क्षेत्र, ताल र साना खोल्सा सुक्दै जानुले पनि चराको बासस्थान घट्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्